अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
बुधबार अख्तियारले प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलविरूद्ध बिगो रकम एक लाख कायम गरी अदालतमा आरोप-पत्र दायर गरेको हो।
पौडेलले नगरपालिकाको सूचना, सञ्चार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी विनियोजन भएको रकममध्येबाट घूस माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो।
टंगालबाट खटेको टोलीले पौडेलले एक लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।
उनले प्रिमियर डिजिटल मिडिया प्रालिले मासिक एक पटक कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरी पहिलो किस्ता बापत दुई लाख पचास हजार रुपैयाँमा सञ्चालन भइरहेकोमा पौडेलले सेवाग्राहीसँग एक लाख रुपैयाँ लिएका थिए।
पौडेलले घुस रकम आफ्नो सवारी चालकमार्फत् लिएका थिए।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय हुन मागदाबी समेत गरेको छ।