पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान भएको बस दुर्घटनामा २० यात्रु घाइते भएका छन्।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना५ख २८५६ नम्बरको बस एकापसमा ठोक्किदा दुबै बसमा सवार २० यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइतेमध्ये तीन जनालाई भरतपुरस्थित चितवन मेडिकल कलेज र एक जनालाई थप उपचारको लागि पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।
अन्य घाइतेको दमौलीस्थित रत्नहरि र एपोलो अस्पतालमा उपचार भइरहेको छ। तीव्र गतिमा आएको ना ५ ख २८५६ नम्बरको बसले गलत दिशामा आएर अर्को बसलाई ठक्कर दिएको थियो।
दुर्घटनापछि केही बेर अवरुद्ध भएको सडक अहिले सुचारु छ।