जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन प्रहरी नायव उपरीक्षक त्रिलोकबहादुर चन्दसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको छ।
लेखापाललाई दबाब दिई लाखौँ रुपैयाँ सरकारी रकम निकाल्न लगाई आफ्नो घर खर्च चलाउने साथै निजहरुले सिपाहीको नाममा नक्कली हस्ताक्षर गरी दैनिक तथा भ्रमणभत्ता निकाली आफैले मासेको भन्ने ब्यहोराको उजुरी उपर अनुसन्धान हुँदा दोषी देखिएको अख्तियारले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन कार्यालय प्रमुख कृष्ण बहादुर कुँवर, लेखापाल प्रहरी नायव निरीक्षक माधव चन्द ठकुरी, लेखाशाखामा कार्यरत टंक बहादुर मल्ल, सर्वराज खत्रीसमेतले तलबी भर्पाईको जोडजम्मा फरक पारी १५ लाख ९२ हजार बढी निकालेको अख्तियारले जनाएको छ।
कार्यरत नै नरहेका व्यक्ति ईश्वरी श्रीषको नामबाट राशन तथा स्थानीय भत्ता शीर्षकमा खर्चसमेत लेखेर कुल १९ लाख ९५ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारको दावी छ।
सो बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुरुप आरोपीहरूबाट बिगो असुल उपर गर्न माग दावी गरिएको छ।
साथै कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका तत्कालीन लेखापालहरु भक्त बहादुर शाही र भवानी प्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालयको उल्लेखित अवधिको लेखापरीक्षण गर्ने क्रममा प्रहरी कर्मचारीहरुको तलब, स्थानीय भत्ता तथा राशन भत्तासमेतको भरपाईमा जोडजम्मामा फरक पारी बढी खर्च लेखेर हिनामिना गरेको देख्दादेख्दै लेखापरीक्षण गर्दा निजी लाभका लागि बदनियतपूर्वक काम गरेको अख्तियारको आरोप छ।
यसैगरी महालेखापरीक्षकको कार्यालयको तर्फबाट लेखापरीक्षणको लागि खटिएका निर्देशक प्रेम कुमार अधिकारी लेखापरीक्षण अधिकारीहरु छत्रनाथ शर्मा गैरे र संगिता फुयालले जिल्ला प्रहरी कार्यालयको उल्लेखित आर्थिक वर्षको लेखापरीक्षण गर्ने क्रममा बढी दरमा खर्च भुक्तानी लेखी सघाएको अख्तियारले जनाएको छ।