संसारकै वृद्ध पुरुषका रूपमा हालै विश्व कीर्तिमान कायम गरेका जापानी नागरिक चितेत्सु वातानाबीको निधन भएको छ।
११२ वर्षको उमेरमा उनको आइतबार निधन भएको शवगृह सेवाले मंगलबार मात्रै पुष्टि गरेको हो। उनको मृत्युको कारण भने खुलाइएको छैन।
चितेत्सु वातानाबी विश्वकै वृद्ध पुरुषको प्रमाणपत्र लिँदा खुसी देखिन्थे। केही दिनयता वातानाबीले खाना खान सकेका थिएनन्। उनको मृत्युअघि श्वासप्रश्वासमा समस्या र ज्वरो आएको जापानी पत्रिका मैनिचीले पारिवारिक स्रोतलाई उद्धृत गर्दै लेखेको छ।
उनका पाँच छोराछोरी, १२ नाति–नातिना र १६ पनाति–पनातिना र एक खनातिसमेत रहेको मैनिचीले जनाएको छ। वातानाबीको जन्म सन् १९०७ मा भएको थियो। उनले ताइवानमा १८ वर्षसम्म काम गरेका थिए।
उत्तरी जापान निगातीमा बसाइँ सरेर आएपछि उनी सरकारी कर्मचारीका रूपमा कार्यरत थिए। वातानाबीले लामो समय बाँच्न सक्नुको मूल कारण नै आफू हाँस्नु रहेको बताउने गर्थे।
त्यस्तै विश्वकै वृद्ध महिला पनि जापानी नै हुन्। केन तानाका नामकी ती वृद्धा ११७ वर्षकी भइन्।