कोलकता नाइट राइडर्सका कोच ज्याक कलिसले चेन्नईसँगको खेल हारेपछि आफ्ना खेलाडीले धेरै खेल खेलेका कारण थाकेको बताएका छन्।
कोलकाता शनिबार भएको खेलमा चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो। कोलकाताको यो तेश्रो हार हो। त्यसअघिको म्याचमा पनि कोलकाता दिल्ली क्यापिटल्ससँग ७ विकेटले पराजित भएको थियो।
१९ अप्रिलमा कोलकाताले हैदराबादको सामना गर्दैछ। कलिसले पाँच दिनको आरामको स्वागत गर्दै भने, ‘नौ दिनमा पाँच खेल खेलेर हाम्रा खेलाडी मानसिकरूपमा थकित छन्।’
खेलिएका पाँच म्याचमा ३ म्याच बेङ्लोर, जयपुर तथा चेन्नईमा भएका थिए।
‘हामीले नौ दिनमा पाँच म्याच खेल्यौं। यसकारण हाम्रा खेलाडी मानसिकरूपमा थाकेका छन्। टिमका लागि यो विश्राम राम्रो हुनेछ। त्यसपछि हामी शुक्रबार हुने म्याचको तयारीका लागि कडा मेहेनत गर्नेछौं’, उनले भने, ‘सहि समयमा विश्राम मिलेको छ। यतिबेला साथी र परिवारसँग समय बिताउन पाइनेछ।’
त्यस्तै उनले चेन्नईको विरूद्ध अन्तिम ४ ओभर रन बनाउन नसक्नु टोलीका लागि महँगो साबित भएको बताए।
’१६ ओभरसम्म म्याच हाम्रो नियन्त्रणमा थियो तर अन्तिम ४ ओभरमा ब्याटिङ खराब भयो, जुन महँगो हुन गयो। यस विकेटमा १७०-१७५ को लक्ष्य टक्कर दिने किसिमको हुन्छ’, ज्याक कलिसले भने।