इण्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि मुम्बई इण्डियन्सले जितेको छ। चेन्नई सुपर किंग्सलाई एक रनले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो ।
रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इण्डियन्सले चौथो पटक उपाधि जितेको हो। मुम्बईले यसअघि सन् २०१३, २०१५ र सन् २०१७ मा पनि उपाधि जितेको थियो।
हैदरावाद स्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुम्बई इण्डियन्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। मुम्बईले जितका लागि चेन्नईलाई १५० रनको लक्ष्य दिएको थियो। तर जवाफ ब्याटिङ गरेको चेन्नईले लक्ष्य भेट्टाउन सकेन। पुरै २० ओभर ब्याटिङ गरेको चेन्नईलाई अन्तिम बलमा २ रन आवश्यक थियो। तर मुम्बईका लासिथ मालिङ्गाले विकेट लिदैँ मुम्बईको जित सुनिश्चित गरे।
मुम्बईका लागि जसप्रित बुम्राले २ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दा मात्र १४ रन दिएका थिए। त्यस्तै राहुल चहारले पनि १४ रन खर्चिएर एक विकेट लिएका थिए।
चेन्नईका लागि सेन वाट्सनले ८० रन जोडे पनि जितका लागि पर्याप्त भएन। चेन्नईको लगातार विकेट झरिरहँदा पनि ओपनर वाट्सनले एकातर्फबाट पारी सम्हाल्दै टिमलाई अगाडि बढाएका थिए। तर वाट्सन अन्तिम ओभरमा रन आउट हुन पुगेका थिए।
मुम्बईले खेलमा सुरुआत राम्रो गरेको थियो। मुम्बईका लागि सबभन्दा धेरै रन किरन पोलार्डले बनाए। उनले नटआउट ४१ रन बनाए। त्यस्तै क्वान्टन डिककले २९ र इसान किसानले २३ रन बनाए।
चेन्नईका दिपक चहारले एक्लैले तीन विकेट लिए। त्यस्तै इमरान ताहिर र शार्दुल ठाकुरलले दुई दुई विकेट लिए।