इङ्ल्याण्डमा जारी क्रिकेट विश्वकपमा शनिबार भएको खेलमा अस्ट्रेलियाले श्रीलंकालाई ८७ रनले पराजित गरेको छ।
जितसँगै अस्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। हालसम्म ५ खेल खेलेको अस्ट्रेलियाले ४ मा जित हासिल गर्दै ८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा पुगेको हो।
हिजोको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले श्रीलंकालाई निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ३३५ रनको लक्ष्य दिएको थियो।
जवाफी लक्ष्य पछ्याउन आएको श्रीलंका ४५.५ ओभरमा अलआउट हुँदै २४७ रनमा अलआउट भयो।
श्रीलंका लागि कप्तान करूणा दिमुथले सर्वाधिक ९७ रनको योगदान दिएका थिए। त्यस्तै कुशल परेराले ५२ रनको योगदान दिएका थिए। दिमुथ र परेराले ११५ रनको साझेदारी गरेका थिए।
यो साझेदारी खेलको १६ औं ओभरमा टुटेपछि श्रीलंकाली ब्याट्स्म्यानहरूले लगातार लय गुमाए। उनीहरूको पारीलाई अस्ट्रेलियाका बलरहरूले ध्वस्त पारिदिएका थिए। यसक्रममा कुशल मेन्डिसले ३०, थिरिमानेले १६ तथा धनञ्जयले १६ रन जोड्नुका अलावा अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् र श्रीलंकाले पराजय भोग्यो।
यसक्रममा अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ४ विकेट लिए भने केन रिचर्डसनले ३ तथा प्याट कमिन्सले २ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको अस्ट्रेलियाका लागि कप्तान तथा ओपनर आरोन फिन्चले सर्वाधिक १५३ रन बनाए। उनले १३२ बलको सामना गर्दै १५ चौका तथा ४ छक्काको मद्दतमा सो स्कोर जोडेका थिए। त्यसैगरी डेविड वार्नर २६ रन बनाउँदा उस्मान ख्वाजा १० रनमा आउट भए भने स्टिभ स्मिथ ७३ रनको योगदान दिए। यसैगरी ग्लेन म्याक्सवेलले अविजित ४६ रन बनाए।
श्रीलंकाका लागि इसुरू उडाआ र धनञ्जय सिल्भाले २-२ विकेट लिदां लसिथ मांलिगाले १ विकेट लिए।
कुल ५ खेल खेलेको श्रीलंकाले १ जित तथा २ बराबरीबाट ४ अंक जोडेको छ। उ तालिकाको ५ औं स्थानमा रहेको छ भने एक स्थानमाथि रहेको भारतले २ जित तथा ए बराबरीबाट ५ अंक जोडेको छ।