आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत पाकिस्तान र भारतबीचको खेलअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो टिमलाई सुझाव दिएका छन्।
इंग्ल्यान्डको म्यानचेस्टरमा खेल सुरू हुनुअघि पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका खानले ट्विटरमार्फत् सुझाव दिएका हुन्।
सन् १९९२ को विश्वकपको उपाधि जिताउने क्रममा कुशल कप्तानी गरेका खानले ट्विटरमा पाँच वटा पोस्ट गरेका छन्। जारी खेलमा पाकिस्तानले टस जितेर पहिले बलिङ गरिरहेको छ।
खानले करिअरको सुरुवातमा आफू ७० प्रतिशत प्रतिभा र ३० प्रतिशत दिमाग लगाएर सफल भएको लेखेका छन्। उनले करिअरको अन्त्य गर्दा प्रतिभा र दिमाख ५०-५० लगाउने गरेको उल्लेख गरेका छन्।
उनले भारतका पूर्वक्रिकेटर गावस्करको भनाइ उल्लेख गर्दै लेखेका छन्, ‘मेरा साथी गावस्कारसँग म सहमत छु कि, क्रिकेट ६० प्रतिशत दिमाग र ४० प्रतिशत क्षमताको खेल हो। आजको खेलमा दिमाखको भूमिका ६० प्रतिशत छ।’
खानले आजको खेलमा दिमागको दबाब भएको बताउँदै दिमागको शक्तिले खेलको नजिता निकाल्ने बताएका छन्।
खानले सार्फराज खानजस्तो कप्तान हुनु पाकिस्तानका लागि भाग्य भएको बताए। यस्तै उनले हार दिमागबाट हटाउनु पर्ने बताउँदै ३ वटा सुझाव दिएका छन्।
टिमका उत्कृष्ट ब्याट्सम्यान र बलर दबाबरहित तरिकाले खेल्नु पर्ने उनको पहिलो सुझाव छ।
यस्तै पिच नभिजेको अवस्थामा पाकिस्तानले टस जितेर ब्याटिङ गर्नु पर्ने अर्को सुझाव दिएका छन्।
यद्यपी पाकिस्तानले बादल लागेको कारण टस जितेर पहिले बलिङ गरेको छ। तेस्रो सुझावको रूपमा उनले उत्कृष्ट खेल्दै अन्तिम बलसम्म लडाइँ गर्नु पर्ने लेखेका छन्।
यस्तै उनले सच्चा स्पोर्ट्सम्यानको रुपमा जस्तो नजिता आए पनि स्वीकार गर्न आग्रह गरेका छन्।