भारतसँगको खेलमा शून्यमा आउट भएपछि अलराउण्डर शोएब मल्लिकको पूर्व पाकिस्तानी क्रिकेटरहरूले चर्को आलोचना गरेका छन्। उनीहरूले अन्तराष्ट्रिय क्रिकेटमा शोएबको करियर सकिएको दाबी गरेका छन्।
आइतबार भएको खेलमा पाकिस्तान भारतसँग ८९ रनले पराजित भएको थियो।
विश्वकप अगाडि ३७ वर्षिय शोएबले पनि विश्वकपपछि एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटबाट बिदा लिने बताएका थिए। त्यतिबेला उनले आगामी वर्ष अस्ट्रेलियामा हुने ट-२० विश्वकपमा ध्यान दिने बताएका थिए।
जारी विश्वकपमा शोएबको प्रदर्शन बिर्सनलायक छ। उनले ३ म्याचमा मात्र ८ रन बनाएका छन्।
'उनी आफैले विश्वकप अगाडि वान डेबाट सन्यास लिने बताएका थिए। जारी प्रतियोगितामा उनको प्रदर्शन हेर्दा मलाई लाग्दैन की बाँकी खेलमा उनले मौका पाउनेछन्', पूर्व टेस्ट स्पिनर इकबाल कासिमले भने।
त्यस्तै धारणा पूर्व पाकिस्तानी बलर मोहम्मद युसुफको पनि रहेको छ।
'मलाई लाग्छ पाकिस्तानका लागि उनको करियर सकियो। मलाई लाग्दैन उनलाई जारी विश्वकपमा फेरि मौका मिल्नेछ। उनलाई फेरि टोलीमा राख्नु गल्ती हुनेछ', युसुफले भने।
उनीहरूले यस्तो बताएपनि कप्तान सरफराज अहमद र प्रशिक्षक मिकी आर्थरले भने मलिकको बचाउ गरेका छन्।
पूर्व कप्तानसमेत रहेका मलिकले पाकिस्तानका लागि ३५ टेस्ट, २८७ एक दिवसीय तथा ११ टि-२० खेलेका छन्।
उनले पाकिस्तानका लागि सन् १९९९ मा पहिलोपटक पाकिस्तानका लागि अन्तराष्ट्रिय एकदिवसीय क्रिकेट खेलेका थिए। उनले एक दिवसीय क्रिकेटमा ७ हजार ५ सय ३४ रन बनाउनुका साथै १५८ विकेट लिएका छन्।