कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ।
टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो। गण्डकीका शिला रेग्मीले १९ र सुशिला गुरुङले १७ रन बनाइन्।
सुदूरपश्चिमका तर्फबाट कविता कुँवर, लक्ष्मी साउद र जानकी भट्टले समान २-२ तथा कविता जोशीले १ विकेट लिइन्। गण्डकीका तीन खेलाडी रन आउट भएका थिए।
सुदूरपश्चिमले ७ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेटाएको थियो। सुदूरपश्चिमका तर्फबाट कविता कुँवरले २१ तथा कविता जोशी र रेवती धामीले समान १२ रन बनाए।
गण्डकीका तर्फबाट मनिषा उपाध्यायले एक विकेट लिइन्। खेलको प्लेयर अफ दी म्याच कविता कुँवरलाई घोषित गरियो।