पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया जारी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको खेलमा आयोजक इङ्ल्याण्डलाई पराजित गरेपछि अस्ट्रेलिया सेमिफाइनलमा पुगेको हो।
हारसँगै इङ्ल्याण्डको सेमिफाइनल यात्रा कठिन बनेको छ। इङ्ल्याण्डको यो हारले सेमिफाइनलको दौडलाई रोचकसमेत बनाएको छ।
अब इङ्ल्याण्डले दुई खेल खेल्न बाँकी छ। सेमिफाइनल पुग्ने उसले दुबै म्याच अनिवार्य जित्नुपर्छ र एकमात्र म्याच हारेमा भने उसले अन्य टोलीको हारजितमा भर पर्नुपर्नेछ।
मंगलबार भएको खेलमा इङ्ल्याण्ड ६४ रनले पराजित भएको हो। पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले ७ विकेटको क्षतिमा उसलाई २८६ रनको लक्ष्य दिएको थियो।
जवाफी ब्याटिङमा आएको इंल्याण्ड ४४.४ ओभरमै २२१ रन बनाउँदा अलआउट भयो।
पहिलो ओभरको दोश्रो बलमा नै इंग्ल्यान्डका ओपनर जेम्स भिन्स शून्यमा आउट भए भने चौथो ओभरमा जोए रूट ८ रनमा एलबिडब्लु भए। यस्तै छैटौं ओभरमा कप्तान इयान मोर्गन ४ रनमा क्याच आउट भए। यसरी सुरूवाती ३ ब्याट्सम्यानलाई सस्तैमा गुमाएको इङ्ल्याण्ड त्यसपछि खेल अवधिभर दबाबमा परिरह्यो।
इङ्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रनको योगदान दिए। उनका अलावा जोनी बेयरस्टोले २७ रन बनाए भने जोश बटलर र आदिल राशिदले समान २५-२५ रन बनाए। यस्तै क्रिस ओक्सले २६ रन बनाए।
यस पारीमा अस्ट्रेलियाका लागि अस्ट्रेलियाका जोसन बेहरोनडफले सर्वाधिक ५ विकेट लिए भने मिचेल स्टार्कले ४ विकेट लिए। मार्कस स्टोइनिसले १ विकेट लिएका थिए।
त्यसअघि लन्डनको लर्ड्स मैदानमा टस जितेको इङ्ल्याण्डले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा ७ विकेटको क्षतिमा २८५ रन बनाएको थियो।
अस्ट्रेलियाका लागि ओपनर तथा कप्तान आरोन फिन्चले शतक प्रहार गरे। ११६ बलको सामना गरेका उनले ११ चौका र २ छक्का हिर्काए।
उनका ओपनिङ पार्टनर डेभिड वार्नरले ५३ रनको योगदान दिए। उनले ६१ बलमा ६ चौका प्रहार गरे।
उस्मान खावाजा २३ रन र स्टेभिन स्मिथ ३८ रनमा आउट भए। ग्लेन म्याक्सवेल ८ बलमा १ चौका र १ छक्काको मद्दतमा १२ रनमा जोडेर आउट भए।
मार्कोस स्टोइनिस ८ रनमा रनआउट भए भने पाट कमिङ्ग्सले १ रन मात्र जोड्न सके। एलेक्स कोरीले नटआउट ३८ रन जोडे। उनले २७ बलमा ५ चौका हिर्काए।
बलिङमा इङ्ल्याण्डका क्रिस ओएक्सले २ विकेट लिए। जोफ्रा आर्चर, मार्क उड, बेन स्टोक्स र मोइन अलीले १–१ विकेट हात पारे।