आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले घरेलु टिम इंग्ल्यान्डलाई २२४ रनको लक्ष्य दिएको छ।
बर्मिङघममा टस जितेर पहिले ब्याटिङ गरेको पाँच पटकको विश्व विजेता अस्ट्रेलिया ४९ ओभरमा २२३ रनमा अलआउट भयो।
अस्ट्रेलियाका लागि स्टेभिन स्मिथले ८५ रनको योगदान दिए। उनले ११९ बलमा ६ चौका हिर्काए। एलेक्स क्यारीले ४६ रन जोडे। उनले चिउँडोमा घाउँ भए पनिब्याटिङ गरेको थिए। इंग्ल्यान्डका जोफ्रा आर्चरको बाउन्सर बलले उनको चिउँडोमा लागेको थियो।
त्यसअघि ओपनर डेभिड वार्नर ९ रन र आरोन फिन्च शून्यमा आउट भए। पिटर ह्यान्डसकम पनि ४ रनमा आउट भएपछि अस्ट्रेलिया सुरुमै दबाबमा परेको थियो।
मार्कोस स्टोइनिस पनि शून्यमै पेभिलियन फर्कदा ग्लेन म्याक्सवेलले २३ बलमा २२ रनको योगदान दिए। पाट कमिङ्ग्स ६ रन तथा जासन बेहेरडोर्फले २९ रनको योगदान दिए।
बलिङमा इंग्ल्यान्डका क्रिस ओएक्स र अदिल रसिदले ३-३ विकेट लिए। जोफ्रा आर्चरले २ विकेट हात पारे भने मार्क उडले १ विकेट आफ्नो नाममा लेखाए।
विजेता टिमले उपाधिका लागि आइतबार न्युजिल्यान्डसँग खेल्नेछ। न्युजिल्यान्डले बुधबार भारतलाई पराजित गरेर फाइनलमा स्थान बनाएको थियो।