खेलको हारजित अक्सौर हाँसो र आँशु बनेर पोखिन्छ। यस पटकको विश्वकप क्रिकेट फाइनल रोमाञ्चको चरमबिन्दुमा नै पुग्यो।
५० ओभरको खेलमा बराबरी भएपछि खेलिएको सुपर ओभरले पनि विजेताको छनौट गर्न सकेन। बाउण्ड्रीका आधारमा इङ्ल्याण्डले उपाधि जित्यो।
यस सुपरओभरमा खेल बराबरी मात्र भएन यसै ओभरमा न्युजिल्याण्डका जिमी निशमका स्कूले गुरू तथा कोच डेभ गोर्डनले अन्तिम साससमेत फेरे।
सुपर ओभरमा इङ्ल्याण्डले पहिले ब्याटिङ गर्दै १५ रन बनायो। त्यसपछि जवाफी ब्याटिङका लागि न्युजिल्याण्डका तर्फबाट जिमी निशम र मार्टिन गुप्टिल आए। यसक्रममा निशमले छक्का प्रहार गरेपछि सुपर ओभरको खेलले रोमान्चको चरमबिन्दु छोयो। उता यो खेल हेरिरहेका निशमका गुरू डेभ गोर्डनको सास रोकियो। उनी हृदयघातको शिकार भए।
यसको खुलासा उनकी छोरीले गरेकी हुन्।
'जसै सुपर ओभरको दोश्रो बलमा निशमले छक्का हाने तब मेरो बाबुको सास रोकियो', गोर्डनकी छोरी लियोनीले भनिन्। गोर्डन निशमले अध्ययन गरेको अकल्याण्ड ग्रामर स्कूलका पूर्व शिक्षक तथा कोच हुन्।
'स्टफ डट को डट एनजेड'का अनुसार लियोनीले सुपरओभरको दौरान नर्स आएर आफूलाई आफ्ना पिताको सास परिवर्तन हुँदै गएको जानकारी दिएको बताइन्।
'मलाई सम्झना छ, जसै निशमले छक्का हाने मेरा पिताले अन्तिम सास फेर्नुभयो', लियोनीले भनिन्, 'उहाँ राम्रो ठट्टा गर्नुहुन्थ्यो र इकदमे रोचक मान्छे। निशमले हानेको छक्काले पक्कै पनि उहाँ खुशी हुनुभयो होला।'
आफ्ना गुरूको निधनमा निशमले बिहिबार ट्वीट गर्दै संवेदना प्रकट गरेका छन्।
'डेभ गोर्डन, मेरा हाई स्कूलका शिक्षक, कोच तथा साथी। यो खेलप्रतिको तपाईको प्रेम घातक थियो। ती व्यक्तिहरू जसले तपाईको मार्गदर्शनमा यो खेल खेल्ने सौभाग्य प्राप्त गरे। म्याच सकिने बेलासम्म सास रोक्नुभयो। आशा छ तपाईले गर्व महशुस गर्नुभयो होला। तपाईंलाई धन्यवाद, भगवानले तपाईंको आत्मालाई शान्ति दिऊन', ट्वीटमा उनले लेखेका छन्।
डेभकी छोरीले आफ्ना बाबुका चेलाहरूले उनलाई श्राद्धाञ्जली दिएकोमा खुशी व्यक्त गरेकी छन्।
डेभले निशमसहित लकी फर्ग्युसन लगायतका खेलाडीलाई स्कूले जीवनमा प्रशिक्षण दिएका थिए। उनी सो स्कूलमा २५ वर्षसम्म क्रिकेट तथा हक्कीको कोच बनेर काम गरेका थिए।