आइसिसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा आयोजक सिंगापुरले विजयी सुरुवात गरेको छ।
सोमबार भएको उद्घाटन खेलमा सिंगापुरले कतारलाई ३३ रनले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १८६ रन जोड्यो। जवाफी ब्याटिङ गरेको कतारले २० ओभरमा ९ विकेटको क्षतिमा १५३ रन जोड्यो।
कतारका लागि तामु सज्जादले सबैभन्दा बढी ३४ रन जोडे। उनले २९ बलमा २ चौका र २ छक्का हिर्काए। मोहमद रिजलानले ३३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै नटआउट ३३ रन जोडे। फइसल जावेदले १४ बत्रलमा ५ चौका र १ छक्का हिर्काएर २९ रन र मोहमद तनवीरले १४ बलमा १ चौका र ३ छक्का हिर्काए। बलिङमा जनक प्रसाद र अमजादले ३–३ विकेट लिए।
त्यसअघि सिंगापुरका लागि ओपनिङ ब्याट्सम्यान सुरेन्द्रन चन्द्रमोहनले ४७ रन बनाए। उनले ३९ बलमा ५ चौका र २ छक्का हिर्काए।
अर्का ओपनर रोहान रंगराजनले २० बलमा ३ चौका र २ छक्काको मद्दतमा ३२ रन जोडे।
टिम डेभिडले ३८ रन र मनप्रित सिंहले ३४ रनको योगदान गरे।
बलिङमा कतारका इकबाल हुसेनले ४ विकेट लिए। नोउमान सरवारले २ विकेट हात पारे।
प्रतियोगितामा सिंगापुर र कतारसहित नेपाल, मलेसिया र कुवेतको पनि सहभागिता छ। नेपालले आफ्नो पहिलो खेल मंगलबार विहान कतारसँग खेल्नेछ।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको च्याम्पियन टिम विश्व छनोट प्रतियोगितामा पुग्नेछ।
टी-२० छनोटमा नेपालविरुद्ध भिड्न लागेका ४ टिमका कप्तान के भन्छन्?