आइसिसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले कतारलाई १२३ रनको लक्ष्य दिएको छ।
मंगलबार सिंगापुरको इन्डियन एसोसिएसन मैदानम टस जितेर पहिले ब्याटिङ गरेको नेपाल २० ओभरमा १२२ रनमै अलआउट भयो।
कमजोर ब्याटिङ गरेको नेपालका ७ ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ पेभिलियन फर्के।
कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले नेपालको ओपनिङ गरेका थिए। उनीहरुबीच पहिलो विकेटका लागि ६ ओभरमा ४९ रनको साझेदारी भएको थियो।
पारस छैटौं ओभरको अन्तिम बलमा २८ रनमा जोडेर आउट भए। उनले १७ बलमा ४ चौका र १ छक्का हिर्काए। ज्ञानेन्द्रले आउट हुनुअघि २४ रन जोडे। उनले २४ बलमा २ चौका र १ छक्का प्रहार गरे। त्यसपछि नेपालले लगातार विकेट गुमाएको थियो।
शरद भेषवाकर १३ बलमा ७ रनमै आउट हुँदा सोमपाल कामी ११ रनमा रनआउटको सिकार बने। यस्तै विनोद भण्डारी ३ रनमै आउट भए।
नेपालका लागि सबैभन्दा बढी रन जोडेका दीपेन्द्रसिंह ऐरीले ३४ रन जोडे। उनले ३५ बलमा १ चौका र १ छक्का प्रहार गरे। यस्तै करण केसी पनि ४ रनमै आउट भए। दीपेन्द्र र करण दुवैलाई कतारका नउमान सारवारले १९औं ओभरमा बोल्ड गरेका थिए।
अन्तिम ओभरमा सन्दीप लामिछाने ९ रन, अभिनास बोहरा ० र बसन्त रेग्मी ० रनमा आउट भए।
बलिङमा कतारका इकबाल हुसेनले ३ विकेट लिए। सउबार र कप्तान तमुर साजिले २-२ विकेट लिए।
प्रतियोगितामा सिंगापुर, कतार, नेपाल, मलेसिया र कुवेतको सहभागिता छ।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको च्याम्पियन टिम विश्व छनोट प्रतियोगितामा पुग्नेछ।