नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन्। मंगलबार विहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले तीन घन्टापछि भिसा दिएको छ।
नेपाली टिमका व्यवस्थापक रमन सिवाकोटीले सन्दीपले भिसा पाएको सेतोपाटीलाई जानकारी दिए।
यसअघि सन्दीपले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ खेल्न अमेरिका हुँदै जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए।
सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा अचम्म लागेको भन्दै सन्दीपले ट्विटरमा पोस्ट गरेका थिए।
दोस्रो सिजन सिपिएल खेल्न लागेका सन्दीप यसपटक बार्बाडस ट्राइडन्ट्स्मा ७८ लाख रुपैयाँमा आबद्ध भएका थिए।
सेप्टेम्बर पहिलो सातादेखि सुरु हुने लिगका लागि सन्दीप सेप्टेम्बर पहिलो साता वेस्ट इन्डिज पुग्ने कार्यक्रम छ। त्यसअघि सन्दीपले अमेरिका भ्रमण गर्न चाहेका थिए।
यो पनि हेर्नुहोस्,
म अमेरिका गएर लुक्ने मान्छे होइन : सन्दीप
क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ खेल्न अमेरिका हुँदै जानका लागि मैले काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा आवेदन दिएको थिएँ। मंगलबार विहान मेरो अन्तर्वार्ता थियो।
मलाई अमेरिकाको भिसा लिनु किन आवश्यक थियो भने सिपिएलको फाइनल यसपालि फ्लोरिडामा गर्ने कुरा छ। अनि अर्कातिर एकदिवसीय विश्वकप छनोटका लागि नेपालले अमेरिकासँग पनि त्रिकोणीय सिरिज खेल्दैछ।
सन् २०२३ को एकदिवसीय विश्वकप भारतमा हुँदैछ। त्यसका लागि लिग(२ मा नेपालसहित ७ देशबीच त्रिकोणीय सिरिज हुनेछ।
लिग–२ मा नेपालसहित नामिबिया, ओमान, पपुवा न्युगिनी (पिएनजी), स्कटल्यान्ड, युएई र अमेरिका छन्। यो सिरिजमा होम एन्ड अवे खेल हुन्छन्। नेपाली टिम पनि सिरिज खेल्न अमेरिका जानुपर्छ।
भिसा आवेदनका लागि चाहिने सबै कागजात समावेश गरेको थिएँ। सन् २०१६ देखि नेपालको प्रतिनिधित्व गर्दै संसारका धेरै लिग खेलिसकेकाले भिसा नपाइएला भन्ने लागेको थिएन।
अमेरिकाले मलाई भिसा नदिनु पर्ने कारण केही थिएन। म भर्खर ग्लोबल टी- २० क्यानडा खेलेर फर्किएको हुँ। क्यानडाले मलाई १० वर्षको भिसा दिएको छ।
तर दूतावासका भिसा अफिसरले 'यु आर रिजेक्टेड' भने। म अचम्ममा परें। म अमेरिकामा गएर लुक्ने मान्छे होइन। त्यहाँ नलुक्ने भएपछि मलाई रोक्नु पर्ने कारण के थियो र?
मैले उनलाई आफू रिजेक्ट हुनुको कारण सोधें। उनले कारण दिएनन्। फेरि भने- यु आर रिजेक्टेड।
ती भिसा अफिसरको व्यवहार मलाई निकै रूखो लाग्यो।
अमेरिकाको भिसा नपाएपछि मलाई सिपिएल खेल्न अर्कै बाटोबाट जानु पर्ने भएको छ। जसले मलाई झन्झट र दुस्ख थपिएको छ।
(राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेसँग सेतोपाटीले गरेको कुराकानीमा आधारित)