मात्र केहि वर्ष अगाडीको कुरा हो, जब भारतीय ब्याटस्म्यान सचिन तेन्दुलकर जब मैदानमा आउँथे तब कुनै न कुनै रेकर्ड बन्थ्यो।
१० देखि नयाँ परिवर्तन भइरहेको छ, अब जब भारतीय कप्तान विराट कोहलीले मैदानमा केहि राम्रो गर्छन् तब सचिनको कुनै न कुनै कीर्तिमान भंग हुने र बराबरी हुने गरेको छ।
बुधबार वेस्ट इण्डिज विरूद्ध खेलिएको वान डे सिरिजको अन्तिम खेलमा विराटले शतक बनाउँदै सचिनको नाममा रहेको रेकर्ड आफ्नो नाममा पारे।
बुधबार भएको खेलमा विराटले अविजित पारी खेले। उनले ९९ बलको सामना गर्दै १४ चौकाको सहयोगमा अविजित ११४ रन बनाए।
यसक्रममा उनको स्ट्राइक रेट ११५.१५ रह्यो।
यस सिरिजमा लगातार दोश्रो शतक बनाएका कोहलीले करियरको ४३ शतक पूरा गरे। उनको २३९ वान डेबाट ११ हजार ५ सय २० रन पूरा भएको छ।
विराट सर्वाधिक रन बनाउने मामिलामा हाल आठौं नम्बरमा छन्। सूचिमा १८ हजार ४ सय २६ रन बनाउँदै सचिन पहिलो नम्बरमा छन्। त्योसँगै ४९ शतकसहित सर्वाधिक शतक हान्ने सूचिको पहिलो नम्बरमा पनि सचिन नै छन्।
वेस्ट ईण्डिज विरूद्ध वान डे मा विराटले ९ औं शतक बनाए। यसबाट विराटले कुनै टोलीका विरूद्ध सर्वाधिक शतक बनाउने कीर्तिमानमा सचिनसँग बराबरी गरे। सचिनले भने यो रेकर्ड अस्ट्रेलियाविरूद्ध बनाएका थिए।
बुधबार इण्डिजविरूद्ध शतक बनाएसँगै विराट कम पारीमा ४३ वान डे शतक बनाउने पहिलो ब्याटस्म्यान बनेका छन्। २३९ खेलबाट उनले यो रेकर्ड बनाएका हुन्। योसँगै उनी वेस्ट इण्डिजमा सर्वाधिक वान डे शतक बनाउने खेलाडीसमेत बनेका छन्।
उनले इण्डिजमा चौथो पटक शतक बनाउँदै यो रेकर्ड आफ्नो नाममा गराएका हुन्।
उनी अगाडी यो कीर्तिमान म्याथ्यु हेडन, हाशिम अमला तथा जो रूटको नाममा थियो। उनीहरू तीनै जनाले वेस्ट इण्डिजमा ३-३ पटक शतक बनाएका थिए।