भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी जम्मु कास्मिर उपत्यकामा १५ दिन गस्ती गरेर फर्किएका छन्।
धोनी कास्मिरबाट दिल्ली फर्किएको भारतीय न्युज च्यानल एनडी टेलिभिजनले जनाएको छ।
उनले गत अगस्ट १५ मा आफ्नो ड्यूटी पूरा गरेका थिए।
प्रादेशिक सेनाको प्यारासुट रेजिमेन्टका मानार्थ लेफ्टिनेट कर्णेल धोनीले सेनाको पोसाकमा गस्ती गरेका थिए।
धोनीले १०६ प्रादेशिक बटालियनमा रहेर ३१ जुलाईदेखि १५ अगस्टसम्म सेनाको रूपमा काम गरेका थिए।
यो युनिट कास्मिरको भिक्टर फोर्सको हिस्सा हो। जहाँ रहदा धोनीले गस्ती, गार्ड र पोस्टको ड्युटी गरेका थिए।
३८ वर्षीय धोनी सन् २०११ मा प्रादेशिक सेनाको मानार्थ लेफ्टिनेट कर्णेल बनेका थिए।
क्रिकेट विश्वकपबाट फर्किएपछि धोनीले प्यारासुट रेजिमेन्टमा दुई महिना बिताउने चाहना राखेका थिए। जुन चाहनालाई भारतीय सेनाका जनरल बिपिन रावतले अनुमति दिएका थिए।
त्यसअघि उनले सेनामा समय बिताउने भारतीय क्रिकेट टिमका चयन समितिलाई बताएका थिए। टेस्टबाट संन्यास लिइसकेका धोनीले एकदिवसीय र टी-२० खेलबाट तत्काल सन्यास नलिने पनि बताएका थिए।
धोनी वेस्ट इण्डिज जाने टिममा नभएपछि भारतीय क्रिकेट बोर्डले रिशव पन्तलाई विकेटकिपरको भूमिका दिएको थियो।