यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ।
यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले भदौ २० गते श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ।
एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा आयोजक श्रीलङ्कासँगै बङ्गलादेश र संयुक्त अरब इमिरेटस (युएई) रहेका छन्।
त्यसैगरी समूह ‘ए’मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्।
नेपालले आफ्नो दोस्रो खेलमा भदौ २२ गते बङ्गलादेशसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल भदौ २४ गते युएईसँग खेल्नेछ ।
राउण्ड रोबिन लिगपछि दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
असार महीनामा मलेसियामा सम्पन्न भएको एसिसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एशिया कपमा छनोट भएको थियो।
त्यतिबेला नेपालले फाइनल खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधि हासिल गरेको थियो।