अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ टेस्ट ब्याट्सम्यानको वरीयताको शीर्ष स्थानमा फर्किएका छन्। स्मिथले भारतीय कप्तान विराट कोहलीलाई पछि पारेर पहिलो वरीयता कब्जा गरेका हुन्।
कोहली सोमबार वेस्ट इन्डिजविरुद्धको टेस्टको दोस्रो इनिङमा पहिलो बलमै आउट हुँदा स्मिथभन्दा पछि परेका हुन्।
कोहली आउट भए पनि भारतले खेल भने जितेको थियो। जितसँगै कोहलीले भारतका लागि टेस्टमा सबैभन्दा बढी जित निकाल्ने कप्तानको रेकर्ड बनाएका थिए।
पछिल्लो पटक स्मिथ डिसेम्बर २०१५ देखि अगस्ट २०१८ सम्म टेस्ट वरीयताको शीर्ष स्थानमा थिए। तर स्मिथ बल टेम्परिङको काण्डमा मुछिएर प्रतिबन्धमा परेपछि कोलही वरीयताको शीर्ष स्थानमा पुगेका थिए।
टेस्ट वरीयताको दोस्रो स्थानमा रहेका कोहलीले अक्टोबरमा दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा राम्रो खेले स्मिथलाई पछि पार्न सक्नेछन्।
टेस्ट वरीयताको ब्याट्सम्यानको तेस्रो स्थानमा न्युजिल्यान्डका केन विलियनसन, चौथो स्थानमा भारतका चेतेश्ववर पुजारा र पाँचौ स्थानमा न्युजिल्यान्डका हेनरी निकोल्स छन्।
टेस्ट बलरको पहिलो स्थानमा अस्ट्रेलियाका पाट कमिङ्ग्स, दोस्रो स्थानमा दक्षिण अफ्रिकाका कागिसो रबाडा, तेस्रो स्थानमा भारतका जसप्रित बुमराह, चौथो स्थानमा वेस्ट इन्डिजका जासन होल्डर र पाँचौ स्थानमा इंग्ल्यान्डका जेम्स एन्डर्सन छन्।
अलराउन्डरको शीर्ष स्थानमा वेस्ट इन्डिजका जासन होल्डर, दोस्रो स्थानमा इंग्ल्यान्डका वेन स्टोक्स, तेस्रो स्थानमा बंगलादेशका सकिब अल हसन, चौथो स्थानमा भारतका रवीन्द्र जडेजा र पाँचौ स्थानमा दक्षिण अफ्रिका भेर्नोन फिलान्डर छन्।