एसिसी यु-१९ एसिया कपअन्तर्गत नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ।
श्रीलंकामा जारी प्रतियोगितामा युएईले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो।
समूह 'बी' मा रहेका नेपाल र युएई यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन्। त्यसैले खेल प्रतिष्ठाको लडाइँमा सीमित हुनेछ।
त्यसो त चार महिनाअघि मलेसियामा भएको आइसिसी यु–१९ छनोटमा वर्षाले अबरुद्ध खेलमा युएईसँग १ रनले पराजित भएको हारको बदला लिन नेपाललाई अवसर छ। सो हारसँगै नेपाल यु-१९ विश्वकपमा छनोट हुन असफल भएको थियो।
नेपाल र युएईलाई पराजित गरेका श्रीलंका र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन्।
प्रतियोगिताको समूह ‘ए’ बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका थिए। समूहबाट पाकिस्तान र कुवेत बाहिरिएका थिए।
नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), रित गौतम, पवन सर्राफ, मोहमद आसिफ शेख, भीम सार्की, सूर्य तामाङ, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा