एसिसी यु-१९ एसिया कपमा नेपालले युएईलाई २८६ रनको लक्ष्य दिएको छ।
टस जितेको युएईले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २८५ रन जोड्यो।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे। रोहितले ६७ रनको योगदान दिए। आसिफ शेखले ४५ रन जोडे। रोहितले ८३ बलमा ८ चौका र १ छक्का र आसिफले ५४ बलमा ८ चौका हिर्काए।
त्यसअघि ओपनरद्वय पवन सर्राफ र रित गौतम खाता नै नखोली आउट भएका थिए।
सन्दीप जोराले ५३ बलमा ६ चौका हिर्काउँदै ४८ रनको योगदान दिए। कुशल मल्ल २२ रनमा आउट हुँदा रासिद खान र कमलसिंह ऐरीले आक्रमक ब्याटिङ गरे।
रासिदले ४६ बलमा ५ चौका र १ छक्काको मद्दतमा ४४ रन तथा कमलले २५ बलमा ५ चौका र २ छक्काको मद्दतमा ४१ रन बटुले।
बलिङमा युएईका मोहमद ताहिर र सचिथ शर्माले ३-३ विकेट लिए।
समूह 'बी' मा रहेका नेपाल र युएई यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन्। त्यसैले खेल प्रतिष्ठाको लडाइँमा सीमित छ।
त्यसो त चार महिनाअघि मलेसियामा भएको आइसिसी यु–१९ छनोटमा वर्षाले अबरुद्ध खेलमा युएईसँग १ रनले पराजित भएको हारको बदला लिन नेपाललाई अवसर छ। सो हारसँगै नेपाल यु-१९ विश्वकपमा छनोट हुन असफल भएको थियो।
नेपाल र युएईलाई पराजित गरेका श्रीलंका र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन्।
प्रतियोगिताको समूह ‘ए’ बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका थिए। समूहबाट पाकिस्तान र कुवेत बाहिरिएका थिए।