अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का उपाध्यक्षा इमरान ख्वाजाले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन आगामी अक्टोबरमा फुकुवा हुने विश्वास व्यक्त गरेका छन्।
ख्वाजाले सोमबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालसँग काठमाडौंमा छलफल गरेपछि क्यानमाथिको निलम्बन फुकुवा हुने संकेत गरेका हुन्।
'क्यानको जिल्ला र प्रादेशिक समितिको निर्वाचन सकिएकोमा मलाई खुसी लागेको छ। अब हामी केन्द्रीय समितिको निर्वाचन गर्ने चरणमा छौं। राष्ट्रिय खेलकुद परिषदले राजनीतिक दबाबबिना स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न सहयोग गरेकोमा धन्यवाद दिन चाहन्छु। यो नै नेपालको सदस्यता पाउनका लागि मुख्य दायरा हो,' इमरानले भने, ' क्यानको केन्द्रीय समितिको निर्वाचन सकिएपछि सिड्नीमा बस्ने आइसिसी बोर्ड बैठकले क्यानको निलम्बन फुकुवा गर्नेमा आशावादी छु।'
ख्वाजा, सदस्यसचिव सिलवाल र आइसिसीले गठन गरेको स्वतन्त्र समितिको सोमबार भएको छलफलपछि क्यानको निर्वाचन आगामी असोज १० र ११ गते हुने सहमति भएको थियो।
यसअघि आगामी असोज ३ र ४ गतेका लागि तोकिएको क्यानको निर्वाचन नियमविपरीत भएको भन्दै राष्ट्रिय खेलकुद परिषद्ले रोक्न निर्देशन दिएको थियो।
त्यसपछि काठमाडौं आएका आइसिसी उपाध्यक्ष ख्वाजासँग सदस्यसचिव सिलवालले छलफल गरेपछि निर्वाचनको नयाँ मिति तोकिएको हो।