आयरल्यान्ड, नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको त्रिकोणीय टी-२० सिरिजमा स्कटल्यान्डले २ वटा रेकर्ड बनाएको छ।
सोमबार भएको नेदरल्यान्ड्सविरुद्धको दोस्रो टी-२० खेलमा स्कटल्यान्डले २५२ रन प्रहार गरेर रेकर्ड बनाएको हो।
पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ३ विकेटको क्षतिमा २५२ रन जोड्यो। उसका लागि जर्ज मुन्सीले ५६ बलमा ५ चौका र १४ छक्काको मद्दतमा १२७ रन जोडे भने कप्तान केल कोइटजरले ५० बलमा ११ चौका र ५ छक्का हिर्काउदै ८९ रन जोडे।
दुईबीच पहिलो विकेटका लागि १५.१ ओभरमा २०० रनको साझेदारी भएको थियो। यो टी-२० अन्तर्राष्ट्रिय खेलमा पहिलो विकेटका लागि भएको तेस्रो ठूलो साझेदारी हो।
टी-२० मा अफगानिस्तनका जजाइ र घानीले आयरल्यान्डविरुद्ध पहिलो विकेटका लागि गरेको २३६ रनको साझेदारी सबैभन्दा ठूलो हो। दोस्रो साझेदारी अस्ट्रेलियाका फिन्च र सर्टले जिम्बावेविरुद्ध गरेको २२३ रनको साझेदारी हो।
यस्तै आयरल्यान्ड बनाएको २५२ रन टी-२० अन्तर्राष्ट्रिय खेलको छैटौ सर्वाधिक स्कोर हो।
खेलमा स्कटल्यान्डले दिएको २५३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा ७ विकेटको क्षतिमा १९४ रन जोड्दा ५८ रनले पराजित भयो। पिटर सीलारले ४९ बलमा नटआउट ९६ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।