एभरेस्ट प्रिमियर लिग (इपिएल)ले आधिकारीक ब्रोस्टकास्ट पार्टनरमा भारतीय टेलिभिजन च्यानल डिस्पोर्टसँग सम्झौता गरेको छ। जससँगै अब इपिएलको प्रत्यक्ष प्रसारण डिस्पोर्टबाट हुने भएको छ।
इपिएलले पहिलो पटक अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलसँग सम्झौता गरेको हो। इपिएलले सम्झौता रकमको बारेमा केहि खुलाएको छैन।
अब डिस्पोर्टलाई इपिएलका खेलको अधिकार हुनेछ। यसअघि डिस्पोर्टसले भारत, श्रीलंङ्का र बंगलादेश सम्मिलित निदाहस ट्रफी लाइभ गरेको थियो।
यस्तै पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग र अफगानिस्तान प्रिमियर लिग पनि यहि टेलिभजनले प्रत्यक्ष प्रसारण गरेको थियो।
सन् २०१७ मा डिस्कभरी एसिया प्यासेफिसले भारतमा डिस्पोर्टको लन्च गरेको थियो।
अघिल्लो सिजन इपिएलको प्रत्यक्ष प्रसारण एपिवानले गरेको थियो।
यस सिजनको इपिएल आगामी फागुन तेस्रो साता हुने तय छ। प्रतियोगिता आगामी फागुन १७ देखि चैत १ गतेसम्म हुनेछ।
यसपटक पनि विदेशी खेलाडी ल्याउने इपिएलले जनाएको छ। यसपटक एक टिममा एक अन्तर्राष्ट्रिय खेलाडी आइकोनिक खेलाडीको रुपमा हुने बताइएको छ। आइकोनिक खेलाडी टेस्ट राष्ट्रका हुने आयोजकको दाबी छ।
गत सिजनको लिगमा ६ टिमबीच प्रतिस्पर्धा भएको थियो। काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर,पोखरा राइनोज र चितवन टाइगर्स प्रतिस्पर्धा गरेका थिए। जसमा ललितपुर च्याम्पियन बनेको थियो।
यसअघि इपिएलका लागि प्रत्येक टिमले ३–३ जना विदेशी आबद्ध हुने प्रावधान थियो।