नेपालको पहिलो महिला फ्रेन्चाइज टी-२० क्रिकेट लिग वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) बुधबारदेखि सुरु हुँदैछ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले जनाएको छ।
आयोजकले मंगलबार प्रतियोगिताको विजेतालाई प्रदान गरिने ट्रफी सार्वजनिक गर्यो। यसअघि विजेताले ७ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको थियो। उपविजेतालाई ३ लाख प्रदान गरिनेछ।
व्यक्तिगतर्फ प्लेयर अफ दि टुर्नामेन्टलेले टिभिएस स्कुटरसहित ५० हजार प्राप्त गर्नेछ। उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाई जनही २५ हजार रुपैयाँ दिइनेछ। प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार पाउनेछन्।
पहिलो खेलमा क्याट क्विन्स काठमाडौं र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। काठमाडौंको कप्तानमा रुबिना क्षेत्री र चितवनको कप्तानमा इन्दु बर्मा छन्। यिबाहेक पोखरा पल्टन, ललितपुर फल्कोन्स र विराटनगर टाइटन्सले पनि प्रतिस्पर्धा गर्नेछन्। सीता रानामगर पोखरा, नेरी थापा ललितपुर र सरिता मगर विराटनगरको कप्तान छन्।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा रुबिनाले पहिलो पटक नेपालमा फ्रेन्चाइज लिग हुनु खुसीको कुरा भएको बताइन्। पहिलो पटक महिला क्रिकेट प्रत्यक्ष प्रसारण हुने भएकाले अलि नर्भर महसुस भएको पनि उनको भनाइ छ।
यस्तै सीता रानामगरले क्रिकेट खेलेको १२ वर्षको करिअरमा पहिलोपटक व्यवसायिक क्रिकेट खेल्न पाउदा खुसी लागेको बताइन्।