भारतकी १५ वर्षीया सेफाली वर्माले मास्टर ब्लास्टर सचिन तेन्दुलकरले ३० वर्षअघि बनाएको रेकर्ड तोडिदिएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा उनी भारतका लागि अर्ध सतक रन हान्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छन्।
रोहतक हरियाणाकी वर्माले शनिबार सेन्ट लुसियामा भएको वेस्ट इन्डिजविरूद्धको टी-ट्वान्टी खेलमा अर्धसतक हानेकी छन्। अर्धसतक हान्दा उनी १५ वर्ष २८६ दिनकी भएकी थिइन्।
यसअघि भारतका लागि सबैभन्दा कम उमेरमा अर्धसतक हानेको रेकर्ड सचिन तेन्दुलकरका नाममा थियो। सचिनले १६ वर्ष २१४ दिनको हुँदा पाकिस्तानविरूद्ध भारतका लागि अन्तर्राष्ट्रिय अर्धसतक हानेका थिए।
शनिबार वेस्ट इन्डिजविरूद्ध सेफालीले ४९ बलमा ७३ रन हानिन्। उनले ४ छक्का र छ चौका प्रहार गरिन्। उक्त खेल भारतले ८४ रनले जित्यो।
शनिबारको अर्धसतकसँगै उनी कम उमेरमा टि-ट्वान्टीमा अर्धसतक हान्ने संसारकै दोस्रो कान्छी खेलाडी बनेकी छन्। उनीभन्दा पहिला युएईकी कविसा इगोडेज छन्। कविसाले १५ वर्ष २६७ दिनमा अन्तर्राष्ट्रिय अर्धसतक हानेकी छन्।
गत सेप्टेम्बर २४ मा भारतको राष्ट्रिय महिला क्रिकेट टिममा डेब्यु गरेकी सेफालीले आइतबार पनि राम्रो प्रदर्शन गरेकी छन्।
वेस्ट इन्डिजसँगकै अर्को खेलमा उनले आइतबार उनले ३५ बलमा अविजित ६९ रन हानेकी छन्।