युएईमा आजबाट टी-१० लिग सुरु हुँदैछ। लिगको पहिलो दिन आज तीन वटा खेल हुँदैछ।
पहिलो खेलमा समूह 'बी' अन्तर्गत मरथा अरेबियन्स र नर्दन वारियर्सबीच खेल हुँदैछ। त्यसपछि समूह 'ए' को खेलमा डेकन ग्लाडिएटर्स र दिल्ली बुल्जबीच प्रतिस्पर्धा हुनेछ।
मध्यरातमा क्वालन्डर्स र टिम अबुधावीबीच खेल हुनेछ। राति पौने १२ बजे अबुधावीस्थित शेख जायेद क्रिकेट रंगशालामा हुने खेलमा नेपालका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट फ्रेन्चाइज लिगमा डेब्यू गर्ने सम्भावना छ।
पारस टिम अबुधावीमा आबद्ध छन्। उनको टिमको कप्तानमा मोइन अली छन्। यस्तै न्युजिल्यान्डका कोरि एन्डर्सन र लुक राइटसँगै पारस अलराउन्डरको रुपमा छन्।
लिगमा नेपालका अर्का खेलाडी सन्दीप लामिछाने पनि आबद्ध छन्। सन्दीप कर्नाटका टस्कर्समा आबद्ध छन्। कार्नाटकाले पहिलो खेल शनिबार राति दिल्ली बुल्ससँग खेल्नेछ।
सन्दीपको टिम समूह 'ए' र पारसको टिम समूह 'बी' मा परेकाले दुईबीच समूह चरणमा आमनेसमाने भने नहुने भएको छ।
१० ओभरको हुने खेल ९० मिनेट भित्रमा सकिनेछ।
लिगमा कर्नाटका, टिम अबुधावी, मारथा अरबीयन्स, बेंग्ला टाइगर्स, डेकन ग्लाडिएटर्स, क्वालन्दर्स, दिल्ली बुल्स र नर्दन वारियर्सले प्रतिस्पर्धा गर्नेछन्।