एसिसी इमर्जिङ टिम्स कपको समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम बंगलादेश यु–२३ लाई १३९ रनको झिनो लक्ष्य दिएको छ।
ढाकामा जारी खेलमा टस जितेको बंगलादेशले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४४.३ ओभरमा १३८ रनमा अलआउट भयो।
नेपालका लागि सोमपाल कामीले सबैभन्दा बढी ३८ रन जोडे। नवौं नम्बरमा ब्याटिङ गरेका उनले ६३ बल खेलेर ४ चौका प्रहार गरे।
करण केसीले ४७ बल खेलेर १८ रन जोडे।
कप्तान ज्ञानेन्द्र मल्लले २२ रन जोडे भने अन्य ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन्।
बलिङमा बंगलादेशका सुमोन खान र सायद अबिदिनले ३–३ विकेट लिए।
यसअघि नेपालले हङकङविरुद्ध जित र भारत यु–२३ विरुद्ध हार बेहोरेको थियो।
नेपाली टिममा पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने छैनन्। दुवै जनाले युएईमा हुने टी-१० लिग खेल्नका लागि क्यानसँग अनुमती लिएका थिए।
मंसिर ७ गतेसम्म हुने टिम्स कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा आयोजक बंगलादेश, भारत र हङकङ छन्।