भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा भ्रमणकारी टिम वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ।
वेस्ट इन्डिजले आइतबार चेन्नइमा भएको पहिलो एकदिवसीय खेलमा भारतलाई ८ विकेटले पराजित गरेको हो।
भारतले दिएको २८८ रनको लक्ष्य वेस्ट इन्डिजले १३ बल खेल्न बाँकी छदा २ विकेटको क्षतिमा पूरा गर्यो।
वेस्ट इन्डिजको जितमा ओपनर साइ होपले नटआउट १०२ रन र सिमरोन हेडमेयरले १३९ रनको शतकीय पारी खेले।
होपले १५१ बलमा ७ चौका र १ छक्का तथा सिमरोनले १०६ बलमा ११ चौका र ७ छक्का हिर्काए।
त्यसअघि भारतले ८ विकेटको क्षतिमा २८७ रन जोडेको थियो।
भारतका लागि रिशव पन्तले ७१ रन, श्रेयर इयरले ७० रन, केदार जादवले ४० र रोहित शर्माले ३६ रन जोडे।
बलिङमा वेस्ट इन्डिजका सेल्डम कोट्रोल, किमो पाउल र अल्जारी जोसेफले २–२ विकेट लिए।