न्युजिल्यान्डविरुद्धको तीन खेलको टेस्ट सिरिज घरेलु टिम अस्ट्रेलियाले क्लिनस्विप गरेको छ।
सोमबार सिड्नीमा सकिएको तेस्रो तथा अन्तिम टेस्टमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई २ सय ७९ रनको फराकिलो अन्तरले पराजित गर्यो।
४ सय १६ रनको लक्ष्य पछ्याएर दोस्रो इनिङ ब्याटिङ गरेको न्युजिल्यान्ड १३६ रनमै अलआउट भयो। न्युजिल्यान्डका लागि कोलिन डे ग्रान्डहोमले ५२ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा अस्ट्रेलियाका नाथान लियोनले ५ विकेट लिए। उनले पहिलो इनिङ पनि ५ विकेट नै लिएका थिए।
पहिलो इनिङमा अस्ट्रेलियाले ४५४ रन जोडेको थियो भने न्युजिल्यान्ड २५६ रनमै अलआउट भएको थियो।
त्यसपछि दोस्रो इनिङ ब्याटिङ गरेको अस्ट्रेलियाले २१७ रनमा इनिङ समाप्तीको घोषणा गरेको थियो। अस्ट्रेलियाका लागि दोस्रो इनिङमा डेभिड वार्नरले १११ रनमा जोडेका थिए।