अस्ट्रेलियाको बिग व्यास टिम मेलवर्न स्टार्समा आवद्ध नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले खेलका दौरान भिजिट नेपाल २०२० को प्रचार गरेका छन्।
बुधबार सिड्नी थण्डरविरुद्धको खेलमा सन्दीपले आफ्नो जुत्तामा भिजिट नेपाल २०२० लेखेर प्रचार गरेका हुन्। सरकारले २०२० मा बीस लाख पर्यटक भित्र्याउने लक्ष्यसहित गत जनावरी १ मा भिजिट नेपाल २०२० को औपचारिक सुभारम्भ गरेको थियो। २०१८ मा नेपालमा ११ लाख ७३ हजार विदेशी पर्यटक नेपाल आएका थिए।
सन्दीपले भिजिट नेपालसँगै अर्को जुत्तामा अस्ट्रेलियाको डढेलोमा खटिएका उद्धारकर्ताको सम्मान जनाएका छन्। उनको एउटा जुत्ता भिजिट नेपाल २०२० र अर्को जुत्तामा 'बुस फायर हिरोज' लेखिएको छ।
बुधबार सिड्नीविरुद्धको खेलमा ४ ओभर बलिङ गरेका सन्दीपले विकेट भने लिन सकेनन्। विकेटविहीन बनेका उनले ३९ रन खर्चिएका थिए।
खेलमा मेलवर्नले सिड्नीलाई ६ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।