मनमोहन मेमोरियल (एमएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको छ।
आर्मीले बुधबार भएको खेलमा प्रदेश ३ लाई ६४ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
उपाधिका लागि अब आर्मीले बिहीबार नेपाल पुलिस क्लब र सुदूरपश्चिमबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।
सुनसरीको इनरुवामा पहिलो ब्याटिङ गरेको आर्मी ४६.३ ओभरमा २ सय १६ रनमा अलआउट भयो।
आर्मीका लागि अनिल मण्डलले सबैभन्दा बढी ४३ रन जोडे। कुशल मल्लले २६ बलमा ३७ रनको योगदान गरे।
बलिङमा प्रदेश ३ का गौतम केसीले ४ विकेट लिए।
४७ ओभरमा २१७ रनको लक्ष्य पछ्याएको प्रदेश ३ ले ३८.१ ओभरमा अलआउट हुने क्रममा १५२ रन मात्र जोड्यो।
प्रदेश ३ का लागि सोनु तामाङले ७४ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट हुँदा उनको इनिङ काम लागेन।
बलिङमा आर्मीका सुसन भारीले ३ विकेट लिए भने साहब अलामले २ विकेट हात पारे।