नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले सिजनको एभरेस्ट प्रिमियर लिग (इपिएल) काठमाडौं किंग्स ११ बाट खेल्ने भएका छन्।
सन्दीपले बिहीबार आफूले काठमाडौंबाट इपिएल खेल्न लागेको पुष्टि गरेका हुन्।
उनले लामो समयपछि घरेलु दर्शकका अघि खेल्न पाउदा रमाइलो अनुभव हुने बताउँदै ब्यग्र प्रतिक्षामा हुने बताएका छन्।
सन्दीपले २०७५ सालको पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्सको कप्तानी गरेका थिए। त्यसपछि उनले घरेलु क्रिकेट खेलेका थिएनन्।
सन्दीपले २ सिजनअघिको इपिएल भने ललितपुर प्याट्रिओट्सबाट खेलेका थिए।
यो सिजनका लागि काठमाडौंले सन्दीपसँगै दीपेन्द्रसिंह ऐरीलाई पनि भित्र्याएको छ।
काठमाडौंले नरेश बुढाऐरको स्थानमा सुवास खकुरेल र सुशील कँडेलको स्थानमा आकाश चन्दलाई भित्र्याएको छ।
काठमाडौंका यसअघिका कप्तान सोमपाल कामी भने चितवन टाइगर्समा गएका थिए।
६ शहरका ६ फ्रेञ्चाइज टिमबीच प्रतिस्पर्धा हुने सिजनको इपिएल मार्च १४ देखि २८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।