पहिलो वान डेमा अस्ट्रेलियासँग १० विकेटको ऐतिहासिक हार बेहोरेको भारतले दोश्रो खेल भने ३६ रनले आफ्नो पक्षमा पारेको छ।
जितसँगै ३ खेलको एक दिवसीय सिरिजमा १-१ को बराबरी भएको छ।
जितका बाबजुत पनि टोलीलाई दुई वटा झट्का भने लागेको छ।
भारतका दुई ओपनरहरू रोहित शर्मा र शिखर धवन घाइते भएपछि यस्तो भएको हो।
भारत र अस्ट्रेलियाबीच तेश्रो तथा निर्णायक टेस्ट आइतबार हुँदैछ।
यस्तोमा दुई महत्वपूर्ण खेलाडी घाइते हुँदा भारतका लागि तेश्रो खेल सहज हुनेछैन।
दोश्रो खेलमा ९६ रनको पारी खेलेका धवनलाई कंरङमा चोट लागेको छ भने रोहितलाई काँधमा चोट लागेको छ। चोटले गर्दा धवन फिल्डिङमा समेत उत्रेनन्। उनको सट्टा युजवेन्द्र चहलले फिल्डिङ गरे। टिम व्यवस्थापनले उनलाई कस्तो र कति चोट लागेको छ बन्ने बारेमा कुनै औपचारिक जानकारी दिएको छैन।
व्यवस्थापनले उनी अर्का खेलका लागि उपलब्ध हुने या नहुने बारेमा पनि केही बोलेको छैन। चोटकै कारण यस अघि उनले विश्वकप क्रिकेटलाई बीचमै छाडेका थिए। त्यसपछि उनी टोलीमा फर्किएको धेरै भएको छैन।
यसैगरी फिल्डिङ्कै क्रममा काँधमा चोट लागेपछि रोहित शर्माले पनि मैदान छाड्नुपरेको थियो।
'मैले रोहितसँग यस बारेमा कुरा गरिसकेको छु। उनको काँधमा चोट लागेको छ, उनी यो पीडाबाट पहिला पनि पिडित थिए। आशा छ उनले अर्को खेल खेल्न सक्नेछन्', खेलपछि कप्तान विराट कोहलीले भने।
भारत र अस्ट्रेलियाबीचको राजकोटमा भएको दोश्रो खेलमा अस्ट्रेलियाले टस जितेर भारतलाई ब्याटिङ् गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको भारतले ६ विकेटको नोक्सानीमा ३४० रनको विशाल स्कोर बनाएको थियो।
त्यसपछि जवाफी ब्याटिङ्मा आएको अस्ट्रेलियालाई भारतले ३०४ रनमा समेटेको थियो।