तीव्र गतिका बलर सोमपाल कामी नेट अभ्यासमा नगएको तीन महिना भइसक्यो। चोट बल्झिदा उनी नेट अभ्यास छाडेर क्लिनिक धाइरहेका छन्। चोट निको हुन कति समय लाग्छ अझै यकिन छैन।
चोटले सताउदा सोमपाल ६ वर्षपछि राष्ट्रिय टिमबाट बाहिरिन बाध्य भएका छन्। शुक्रबार घोषणा गरिएको नेपाली राष्ट्रिय क्रिकेट टिममा सोमपालको सट्टामा युवा बलर कमलसिंह ऐरीले स्थान पाएका छन्।
सन् २०१४ मा युएईविरुद्ध राष्ट्रिय टिममा डेब्यू गरेका सोमपाल ६ वर्षपछि पहिलो पटक टिममा पर्न असफल भएका हुन्। सन् २०१४ यता सोमपालले लिस्ट एको खेलमा नेपालका लागि ४५ खेलमा ६५ विकेट लिए। उनले २८ टी-२० खेलमा २६ विकेट र ६ एकदिवसीय खेलमा १३ विकेट हात पारे।
६ वर्षपछि पहिलो पटक राष्ट्रिय टिममा नपरेका सोमपालका लागि अब चोटलाई जित्नु नै चुनौतीपूर्ण बनेको छ।
चार महिनाअघि सिंगापुर भ्रमणका दौरान सोमपालको पुखरामा समस्या देखिएको थियो। त्यसपछि उनलाई टाइफाइड भयो। बिरामी भएका उनले सुरुमा कमजोर महसुस गरे। त्यसपछि हातको दुखाइ ढाडमा सर्यो। अहिले खुट्टामा आएर रोकिएको छ।
उनले चोटलाई दबाएर एमसिसीविरुद्धको तीनदिवसीय खेल खेले। दक्षिण एसियाली खेलकुदमा भने सोमपाल मैदान उत्रन सकेनन्। गत महिना पोखरामा सम्पन्न पोखरा प्रिमियर लिगमा पनि सोमपालले सबै खेलमा बलिङ गर्न सकेनन्।
उनको शरीरमा गडिरहेको समस्या केहि समयअघि मात्र पत्ता लाग्यो। सोमपालको शरीरमा भिटामिन डी र बी१२ को कमी देखिएको छ।
चोट लागे पनि सोमपाल अमेरिका र ओमानविरुद्धको त्रिकोणात्मक सिरिजको प्रारम्भिक टिममा परेका थिए।
'क्यानलाई फिट हुन नसक्ने जानकारी दिएर उपचार गराइरहेको छु,' सोमपालले सेतोपाटीसँग भने,'मेरो स्थानमा फिट खेलाडीले स्थान पाउछ जसले नेपाली टिमलाई फाइदा पुग्छ।'
सोमपालले शतप्रतिशत खेल्न सक्ने खेलाडीका लागि स्थान खाली गर्दै राष्ट्रिय टिमबाट नखेल्ने निर्णय गरेको बताए।
'पछिल्लो समय फिट हुन नसक्दा मैले रिजल्ट पनि दिन सकिरहेको छैन। त्यसैले अनफिट हुँदाहुँदै टिममा रहन सकिनँ,' उनले भने,'सिरिज नेपालका लागि महत्वपूर्ण छ। त्यसैले हामीलाई अनफिट खेलाडी राख्ने छुट छैन। सबै खेलाडी फिट हुनु पर्छ भन्ने मेरो मान्यता हो।'
सुरुमा उनलाई आफूलाई भएको समस्या थाहा पाउन समय लागेको थियो। चोटसँग जुध्दै गर्दा उनले राम्रो डाइट र सल्लाहको कमी भएको महसुस गरे।
६ वर्षपछि टिमबाट बाहिर हुँदा उनलाई दु:ख भने लागेको छैन। तर खल्लो महसुस भएको छ।
'घरेलु मैदानमा राष्ट्रिय जर्सीमा खेल्न नपाउदा केहि त मिस हुन्छ नै,' उनले भने।