वेस्ट इन्डिजका ड्वाइन स्मिथले आगामी चैतमा हुने तय एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम भैरहवा ग्लाडिएटर्सबाट खेल्ने भएका छन्।
बार्बाडोसमा जन्मिएका ३६ वर्षीया स्मिथसँग भैरहवाले सम्झौता गरेको शनिबार पुष्टि गरेको छ।
वेस्ट इन्डिजबाट टेस्ट, टी-२० र एकदिवसीय टिमबाट खेलिसकेका उनले इन्डियन प्रिमियर लिग आइपिएलमा चेन्नइ सुपर किंग्स, मुम्बई इन्डियन्सबाट खेलेका थिए।
यस्तै उनीसँग पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिग खेलेको पनि अनुभव छ।
स्मिथ भैरहवाको आइकोनिक खेलाडीको रुपमा आउदा टिमका लागि मात्र नभइ नेपाली क्रिकेटका लागि राम्रो हुने टिम मालिक सकेत सांघाइले बताए।
यस्तै भैरहवाका कप्तान शरद भेषवाकारले वेस्ट इन्डिज र आइपिएल खेलिसकेका स्मिथ टिममा हुँदा उत्साहित भएको बताए।
स्मिथले भैरहवाबाट खेल्न पाउँदा खुसी लागेको बताए। उनले नेपालबारे आफूले धेरै कुरा सुनेको बताउँदै मैदानमा उत्रनका लागि आतुर भएको बताए।