चितवन टाइगर्सले दोस्रो विदेशी खेलाडीको रुपमा पाउल स्टर्लिङलाई भित्र्याएको छ।
स्टर्लिङले गत वर्ष पनि चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग (इपिएल) खेलेका थिए। गत वर्ष चितवन टाइगर्स इपिएलको प्लेअफमा पुग्दा स्टर्लिङको प्रर्दशनले प्रमुख भूमिका खेलेको थियो।
स्टर्लिङ आयरल्यान्डका प्रमुख खेलाडी हुन्। गत महिनामात्र उनले आयरल्यान्डलाई वेस्ट इन्डिजसँगको टी-२० अन्तर्राष्ट्रियमा ४ रनको विजय दिलाउन ठुलो भूमीका खेलेका थिए। त्यस खेलमा स्टर्लिङले ४७ बलमा ६ चौका र ८ छक्काको मद्दतमा ९५ रन बनाएका थिए।
स्टर्लिङले आयरल्यान्डबाट ३ टेस्ट, १ सय १७ वानडे अन्तर्राष्ट्रिय र ७५ टी-२० अन्तर्राष्ट्रिय खेलिसकेका छन्।
टी-२० मा २ हजारभन्दा बढी रन बनाउदा स्टर्लिङको स्ट्राइक रेट झन्डै १ सय ४० रहेको छ। स्टर्लिङले बंगलादेश प्रिमियर लिग, टि १० लिग र इंग्लिस काउन्टी मिडलसेक्सबाट खेलिसकेका छन्।
चितवन टाइगर्सले खेलाउन लागेका स्टर्लिङ दोस्रो टेस्ट खेलाडी हुन्।
यसअघि नै चितवन टाइगर्सले अफगानिस्तानका आक्रामक ब्याट्सम्यान एवंम विकेटकिपर मोहम्मद सेहजादलाई भित्र्याइसकेको छ।
सोमपाल कामीलाई ट्रेडमार्फत लिएको चितवन टाइगर्सबाट कमलसिंह ऐरी, सागर ढकाल, शाहव आलम, दिलीप नाथ, ललितसिंह भण्डारी, इशान पाण्डे, आदिल खान, सन्दीप सुनार, भिम सार्की, खडक बोहोरा लगायतका खेलाडी खेल्दै छन्।
‘पाउल स्टर्लिङलाई चितवन टाइगर्सको दोस्रो विदेशी खेलाडीको रुपमा घोषणा गर्न पाउदा हामी निकै उत्साहित छौं, आयरल्यान्डबाट स्टर्लिङले निकै राम्रो प्रदर्शन गर्दै आएका छन्, त्यस्तै प्रदर्शनको अपेक्षा हामीले उनीबाट पनि गरेका छौं, उनको आगमनले चितवन टाइगर्समा नयाँ जोश प्रदान गरेको छ,’ चितवनकी निर्देशक विनिता चौधरीले भनिन्।