नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लोगो सार्वजनिक भएको छ।
सोमबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको हो।
प्रतियोगिताको लोगो युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्म, राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव केशवकुमार विष्ट र ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सार्वजनिक गरेका हुन्।
लोगो शान्तिको प्रतिक परेवाअंकित छ। लोगो र मस्कट भोलानाथ पौडेलको डिजाइन गरेका हुन्। लोगो डिजाइन गरेवापत उनले १ लाख नगद प्राप्त गरे।
मन्त्री विश्वकर्माले लोगो सार्वजनिकले प्रतियोगिताको तयारी आरम्भ भएको संकेत गर्ने भन्दै मन्त्रालयले सम्बन्धित समितिहरूलाई तयारीमा जुट्न निर्देशन दिएको बताए।
प्रतियोगिता आयोजनाको लागि करिब ४ अर्ब खर्च हुने राखेपा सदस्य सचिव विष्टले जानकारी दिए।
प्रतियोगिताको लागि आवश्यक मुख्य पूर्वाधार दशरथ रंगशालाको निर्माण कार्य सकिएको छैन। विष्टले रंगशालाको सम्पूर्ण निर्माण कार्य आगामी असारभित्र सकिने बताए।
नेपालले आयोजना गर्न लागेको सो प्रतियोगिता आगामी मंसिर १५ देखि २४ गतेसम्म हुनेछ।
प्रतियोगिताको आयोजना काठमाडौं र पोखरामा गरिने छ।
१२ औं साग प्रतियोगिता भारतको गुहाटी र सिलोङमा आयोजना भएको थियो।