टोटनह्यामलाई पराजित गर्दै लिभरपुलले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ।
मड्रिडमा भएको खेलमा शनिबार राति लिभरपुलले टोटनह्यामलाई २-० ले पराजित गर्दै उपाधिमा कब्जा जमाएको हो।
गत सिजनमा पनि फाइनल पुगेको लिभरपुल रियल मड्रिडसँग पराजित भएको थियो।
लिभरपुलको जितमा मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे।
सलाहले खेल सुरू भएको दोश्रो मिनेटमा नै पेनाल्टी मार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।
टोटनह्यामका माउसा सिसोकोले डिबक्सभित्र ह्यान्ड गरेपछि लिभरपुलले पेनाल्टी हान्ने अवसर पाएको थियो। साडियो मानेको क्रस रोक्ने क्रममा बल सिसोकोको हातमा लागेको थियो।
पहिलो हाफमा १ गोलको अग्रता लिएको लिभरपुलले दोश्रो गोल खेलको दोश्रो हाफमा गर्यो। सो गोल वैकल्पिक खेलाडीका रूपमा मैदानमा छिरेका ओरिगीले गरे। सो गोल खेलको ८७ औं मिनेटमा भएको थियो।
लिभरपुलले च्याम्पियन्स लिगको उपाधिमा छैटौं पटक कब्जा जमाएको हो।
पछिल्लो पटक उ सन् २००५ मा विजयी भएको थियो।