कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले पाराग्वेलाई बराबरीमा रोकेको छ।
बिहीबार विहान सकिएको खेलमा अर्जेन्टिना र पाराग्वेले १-१ को बराबरी खेलेका हुन्। खेलमा पाराग्वेले पाएको पेनाल्टीमा गोल गर्न नसक्दा अर्जेन्टिनालाई हराउने अवसर गुमायो।
त्यसअघि खेलको ३७ मिनेटमा पाराग्वेले अग्रता लियो। पाराग्वेका लागि रिचार्ड साञ्चेजले गोल गरेका थिए।
५७ मिनेटमा अर्जेन्टिनाले बराबरी गोल गर्यो। पाराग्वेका इभान पिरिसले फल गरेपछि अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिइएको थियो। पेनाल्टीमा लिओनल मेसीले गोल गरे।
६३ मिनेटमा पाराग्वेले पनि पेनाल्टी पाएको थियो। तर अर्जेन्टिनाका गोलकिपर फ्रान्को अल्मानीले पाराग्वेका डेर्लिस गोन्जालेजको पेनाल्टीलाई रोकेका थिए।
बराबरीसँगै समूह ‘बी’ मा १ अंक जोडेको अर्जेन्टिना पुछारमा छ। शीर्ष स्थानको कोलम्बियाको ६ अंक छ। पाराग्वे २ अंक जोडेर दोस्रो र कतार १ अंक जोडेर तेस्रो स्थानमा छन्। कोलम्बिया क्वार्टरफाइनलमा पुगिसकेको छ।
अब समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले कतारसँग खेल्नेछ। यस्तै कोलम्बिया र पाराग्वेबीच खेल हुनेछ। समूहको तेस्रो हुने टिम पनि क्वार्टरफाइनल पुग्ने सम्भावना हुने भएकाले अर्जेन्टिनाको दोस्रो चरण सम्भावना अझै जीवित छ।
प्रतियोगिताअन्तर्गत शुक्रबार विहान पौने ५ बजे जापान र उरुग्वेबीच खेल हुनेछ।