गत सिजनको युरोपियन च्याम्पियन्स लिगमा नेदरल्यान्ड्सको क्लब आयक्सले सनसनी मच्चायो।
समूहमा चरणमा जर्मन च्याम्पियन वार्यन म्युनिखसँग दुवै लेगमा बराबरी खेलेको अयाक्सले अन्तिम १६ मा रियल म्याड्रिडलाई पाखा लगायो। पहिलो खेलमा २-१ ले पराजित भए पनि आयाक्सले दोस्रो लेगमा च्याम्पियन्स लिग साविक विजेता रियललाई ४-१ ले हरायो।
क्वार्टरफाइनलमा पनि आयक्सले युभेन्ट्सलाई हरायो। पहिलो लेग १-१ गोलको बराबरीमा सकिदा अयाक्सले दोस्रो लेगमा २-१ ले पराजित गरेको थियो।
सेमिफाइनलमा टोटनह्यामविरुद्ध पहिलो लेग १-० ले जितेको आयक्स दोस्रो खेलमा ३-२ ले पराजित हुन पुग्यो।
गत सिजन युरोपियन लिगमा सानदार प्रदर्शनसँगै क्लबका दुई खेलाडी चर्चामा आएका थिए। २२ वर्षीय मिडफिल्डर फ्रान्की डे जोङ र १९ वर्षीय सेन्टर ब्याक माथिज डे लिट। नेदरल्यान्ड्समा जन्मिएका दुवै खेलाडी स्थानीय क्लबका उत्पादन हुन्।
लिटले युभेन्ट्सविरुद्धको खेलमा विजयी गोल गरेका थिए। यस्तै उनले १८ वर्षकै उमेरमा अयाक्सको कप्तानी गरेका थिए। उनी अयाक्सको अहिलेसम्मकमै युवा कप्तान हुन्। २०१७ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले १७ खेलमा २ गोल गरिसकेका छन्।
यता डे जोङ अहिले युरोपका प्रतिभाशाली मिडफिल्डरमा पर्छन्। उनले अयाक्सबाट तीन सिजन खेलेका थिए। गत वर्ष राष्ट्रिय टिममा डेब्यू गरेका उनले ९ खेल खेलेका छन्।
गत सिजनमा चर्चा कमाएसँगै दुवै खेलाडी यो सिजन युरोपका चर्चित क्लबमा आबद्ध भएका छन्। संयोग नै मान्नुपर्छ दुवै खेलाडी वर्तमान विश्वकपका उत्कृष्ट खेलाडी भएको क्लबमा पुगेका छन्।
डे जोङले लिओनल मेसी आबद्ध स्पेनिस महारथी क्लब बार्सिलोनसँग सम्झौता गरेका थिए। डे लिटले भने क्रिस्टियानो रोनाल्डो आबद्ध इटालीय क्लब युभेन्ट्सबाट खेल्ने भएका छन्।
जोङले बार्सिलोनासँग ७५ मिलियन युरोमा पाँच वर्षको सम्झौता गरेका हुन्। डे लिटले पनि युभेन्ट्ससँग ७५ मिलियन युरोमै बिहीबार सम्झौता गरेका थिए।
लिटलाई भित्र्याउन बार्सिलोना, म्यानचेस्टर युनाइटेड, पिएसजी, लिभरपुल लगायतका क्लबले चासो देखाएका थिए। तर लिटलाई युभेन्ट्स लैजान रोनाल्डोको भूमीका रहेको बताइएको छ।
गत जुनमा नेदरल्यान्ड्स र पोर्चुगलबीच भएको युईएफए नेसन्स लिगको फाइनलका दौरान रोनाल्डो र लिटको भेट भएको थियो। रोनाल्डोले त्यतिबेला नै लिटलाई युभेन्ट्स आउन भनेका थिए।
फाइनलमा नेदरल्यान्डमाथि १-० को जित निकालेर पोर्चुगलले उपाधि जितेको थियो भने नेदरल्यान्डका डे जोङ उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए।