इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोमाथि बलात्कारको मुद्दा नलाग्ने भएको छ।
अमेरिकाकी मोडेल क्याथरिन कायोर्गाले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी थिइन्। उनले गत असोजमा रोनाल्डोविरुद्ध मुद्दा दायर गरेकी थिइन्।
तर क्लार्क कन्ट्री जिल्ला अधिवक्ता स्टिभ वुल्फसन प्रहरीले आरोपलाई पुष्टि गर्न यथेस्ट प्रमाण जुटाउन नसकेकाले बलात्कारको मुद्दा दायर हुन नसक्ने बताएका हुन्। जसका कारण रोनाल्डोलाई राहत मिलेको छ। वुल्फसनले मुद्दाका लागि प्रहरीले कुनै ठोस प्रमाण नदिएकोले मुद्दा अघि नबढ्ने बताएका हुन्।
यस प्रकरणमा लास भेगासको प्रहरीले रोनाल्डोमाथि १० महिना अनुसन्धान गरेको थियो।
१० महिना अघि दिइएको उजुरीमा क्याथरिनले रोनाल्डोलाई रोक्ने क्रममा 'नो' र 'स्टप' भनेको उल्लेख बताएकी थिइन्। आफ्नो उजुरीमा मायोर्गाले रोनाल्डोलाई पाल्म्स होटल एन्ड सिनोको रेन नाइटक्लबमा भेटेको र पछि रोनाल्डोको कोठामा उनीमाथि बलात्कार भएको उल्लेख गरेकी थिइन्।
त्यसको अर्को वर्ष उनले रोनाल्डोसँग छुट्टै सम्झौता गरेको बताइएको छ। जस अनुसार उनलाई करिब पौने चार लाख डलरको भुक्तानी गरियो जसको बदलामा ती आरोप सार्वजनिक नगर्ने शर्त राखिएको थियो।
३४ वर्षीय रोनाल्डो गत सिजन रियल म्याड्रिडबाट ९९.२ मिलियन पाउन्ड (१४ अर्ब ४३ करोड रुपैयाँ) मा युभेन्ट्समा ४ वर्षका लागि आबद्ध भएका थिए। युभेन्ट्सबाट रोनाल्डोले पहिलो सिजनमा लिगको उपाधि जितेका थिए।
रोनाल्डोले रियलबाट भने ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका थिए।
रियलका लागि उनले च्याम्पियन्स लिगमा १ सय ५ गोल गरेर कीर्तिमान बनाएका थिए। ला लिगमा भने उनले ३ सय ११ गोल गरे। रियलका लागि उनले १६ उपाधि जिते। उनले रियलका लागि ४४ ह्याट्रिक गरे भने ला लिगामा ३४ ह्याट्रिक गरेका थिए।
च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने रोनाल्डोले पाँच पटक च्याम्पियन्स लिगको उपाधि उचाल्ने अवसर पाएका थिए।