नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाको पुनर्निर्माण धमाधम भइरहेको छ।
रंगशालाको साधारण प्याराफिटको निर्माण सकिए पनि भिआइपी प्याराफिटको छानो हाल्ने काम सकिएको छैन।
भिआइपी प्याराफिटका लागि अहिले पिल्लर हाल्ने काम भइरहेको छ। पिल्लरमा फलामको डण्डी हालेर छाना हालिनेछ। जसका लागि कपडाको छाना चीनबाट ल्याइने छ भने डण्डी भारतबाट ल्याइनेछ। राष्ट्रिय खेलकुद परिषदले डण्डी र छाना खरिद प्रक्रिया अघि बढाएको छ।
यस्तै दुवै प्याराफिटमा कुर्सी हाल्नका लागि टेन्डर गरिएको छ।
चिनियाँ निर्माण कम्पनी चाइना रेलवेले रंगशालाको चार वटा कामको जिम्मेवारी लिएको छ। जसमा ट्र्याक बिछ्याउने काम सकिएको छ। स्कोरबोर्ड र फ्लाडलाइटको काम अन्तिम चरणमा पुगेको छ। त्यसपछि साउन्ड सिस्टमको काम गरिनेछ। यी चार काम कात्तिक १५ भित्र सकेर रेलवेले राष्ट्रिय खेलकुद परिषद्लाई हस्तान्तरण गर्नेछ।
खेलकुद परिषद्ले रंगशालामा मिटिङ रुम, चेन्जिङ रुम, शौचालय, गेट, भर्याङको रेलिङ बनाउने काम गरिरहेको छ। यी सबै काम कात्तिक १५ भित्र सक्ने राष्ट्रिय खेलकुद परिषद्का निर्माण शाखाका प्रमुख इन्जिनियर अरुण उपाध्यायको भनाइ छ।
२०७१ देखि नै पुनर्निर्माण थालिएको दशरथ रंगशाला २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको थियो। त्यसपछि एक वर्ष निर्माण रोकिएको रंगशाला अझै सम्पन्न हुन सकेको छैन।
रंगशालामा आगामी मंसिर १५ देखि सुरु हुने दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन र समापन समारोह हुने भएकाले ३ महिना भित्र सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद्लाई दबाब छ। दशरथ रंगशालामा उद्घाटन र समापन बाहेक फुटबल र एथ्लेटिक्सका प्रतियोगिता गर्ने तय छ।
त्यसो त अखिल नेपाल फुटबल संघ (एन्फा) ले रंशगालामा फिफा विश्वकप र एसिया कपको छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरुद्धको खेल गर्न चाहेको छ।
मंसिर ३ गते हुने सो खेलअघि रंगशालाको सबै काम सकिने ग्यारेन्टी हुन नसक्दा एन्फा न्यूट्र्ल भेन्यूको खोजीमा छ।