फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट अन्तर्गत नेपालले भदौ १९ गते कुवेतविरुद्ध उसैको घरेलु मैदानमा खेल्दैछ। सन् १९८० को एएफसी एसियन च्याम्पियनविरुद्ध खेल्नु नेपालका लागि कठिन चुनौती हुनेछ।
कुवेत र नेपालबीच सन् २००० मा एएफसी एसियन कपको छनोट भएको थियो। सो खेलमा नेपाल ५–० ले पराजित भएको थियो। पछिल्लो पटक नेपाल र कुवेत गत मार्चमा २ वटा मैत्रीपूर्ण खेलमा भिडेका थिए।
पहिलो खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो भने दोस्रो खेलमा नेपाल १–० गोलले पराजित भयो।
‘हामीले कुवेतविरुद्धका दुवै खेलमा राम्रो खेलेका थियौं,’ नेपालका प्रशिक्षक योहान कालिनले फिफा डटकमसँगको कुराकानीमा भनेका छन्, ‘ती खेल मेरो नेतृत्वमा सुरुवाती थिए। खेलाडीले मेरो रणनीति अनसार राम्रो खेले। कुवेतका लागि टाउको दुखाइ बनेको थियो। किनकी उनीहरुले नेपालको पोस्टमा आक्रमण गर्न सकिरहेका थिएनन्।’
दुवै खेलमा कुवेतले नेपाललाई दबाबमा राखेकाले कालिन सचेत छन्।
‘कुवेतविरुद्धको मैत्रीपूर्ण खेलका राम्रा र नराम्रा पक्ष छन्’ उनी भन्छन्, ‘राम्रो पक्ष हामीले विपक्षीलाई नजिकबाट चिन्न पायौं। नराम्रो पक्ष बनेको हामीले उनीहरुलाई आश्चर्य पार्न सक्दैनौ कि!’
समूह ‘बी’ मा परेको नेपालले अर्को एसियन च्याम्पियन अस्ट्रेलियासँग पनि खेल्नु पर्नेछ। यस्तै एसियन फुटबल अर्को एसियन शक्ति जोर्डन पनि नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो। समूहमा रहेको अर्को टिम चाइनिज ताइपेई पनि नेपालभन्दा स्तरीय टिम हो। त्यसैले विश्वकप छनोट नेपालका लागि निकै कठिन हुनेछ।
‘यो समूहमा हामी अन्डरडग्स हौं,’ कालिन भन्छन्, ‘अस्ट्रेलिया र जोर्डन बलिया टिम हुन्। हामी सबै विपक्षीलाई सम्मान गर्छौं। तर हामी उनीसँग डराएका छैनौं। हामीले उनीहरुलाई समस्यामा पर्न सक्ने क्षमता देखाइसकेका छौं। किनकी हामीले कुवेत र चाइनिज ताइपई विरुद्ध राम्रो खेलेका थियौं। पक्कै पनि उनीहरु बलिया टिम हुन्। हामी प्रत्येक खेलमा उत्कृष्ट खेल्ने बाचा गर्छौं।’
प्रशिक्षक कालिनले विदेशी लिगमा खेलिरहेका रोहित चन्द र विमल घर्तीमगरबाट टिमले फाइदा लिने बताए। रोहित इन्डोनेसियाको लिग १ च्याम्पियन पेर्सिजा जाकर्ता र विमल माल्दिभ्सको लिग च्याम्पियन टिसी स्पोर्ट्सबाट खेलिरहेका छन्।
‘चन्दले पेर्सिजामा राम्रो गरिरहेका छन्। विमल पनि राम्रा खेलाडी हन्। दुवैबाट थप योगदानको आसा गरको छौं। समग्रमा हाम्रो टिममा युवा खेलाडी छन्। रक्षापंक्तिलाई चुस्ता बनाएका छौं। टिमको संरचना राम्रो छ। सबै खेलाडी आफ्नो पोजिसनबारे सचेत छन्। त्यसैले छनोटमा राम्रो खेल्ने विश्वास छ। ’
उनले दक्षिण एसियाको फुटबल केहि वर्षदेखि पछ्याइरहेको र अब आफूलाई जाँच्ने मौका आएको समेत बताएका छन्।
छनोटको खेल तालिका
कुवेतविरुद्ध
भदौ १९ गते - अवे म्याच
मसिंर ३ गते – स्थान तय हुन बाँकी
चाइनिज ताइपेईविरुद्ध
भदौ २४ गते – अवे म्याच
चैत १३ गते - होम म्याच
अस्ट्रेलियाविरुद्ध
असोज २३ गते – अवे म्याच
चैत १८ गते – होम म्याच
जोर्डनविरुद्ध
असोज २८ गते - अवे म्याच
जेठ २२ गते(२०७७) – होम म्याच