अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुजल श्रेष्ठलाई राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी दिएको छ।
मिडफिल्डर श्रेष्ठले मलेसियाको फुटबल लिग च्याम्पियन जोहर दारुल ता'जिम एफसीविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी गर्नेछन्।
फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिताको तयारीका लागि नेपालले जोहरविरुद्ध भदौ ९ गते मैत्रीपूर्ण खेल खेल्दैछ।
सो खेलका लागि गत शनिबार घोषणा गरिएको टिममा नियमित कप्तान विराज महर्जन टिममा पर्न असफल भएका थिए। २००८ मा राष्ट्रिय टिममा डेब्यू गरेका विराज टिमबाट ११ वर्षपछि बाहिरिएका थिए।
टिममा नियमित गोलकिपर किरण चेमजोङ र रोहित चन्द पनि उपलब्ध नभएपछि नयाँ कप्तानको खोजी भएको थियो।
किरण ३ साताअघि जापानमा प्रशिक्षणका लागि गएका थिए। रोहित इन्डोनेसिया लिग खेलिरहेका छन्। दुवै खेलाडी विश्वकप छनोटका लागि भने उपलब्ध हुनेछन्।
विराज, किरण र रोहितको अनुपस्थितिमा विक्रम लामा, सुजल श्रेष्ठ र विकेश कुथु मध्ये एकले नेपाली टिमको कप्तानी गर्ने सम्भावना थियो। जसमा २७ वर्षीय सुजललाई आर्म ब्यान्ड बाँध्ने जिम्मेवारी दिइएको हो।
सुजलले सन् २०११ मा पोखरामा भएको भुटानविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए। त्यसयता उनले १३ अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
राष्ट्रिय टिममा अटाए पनि पहिलो रोजाइमा नपर्ने गरेका सुजलले नेपालका लागि २ अन्तर्राष्ट्रिय गोल गरेका छन्। उनले सन् २०११ मा विश्वकप छनोटमा इस्ट टिमोरविरुद्ध र २०१६ मा सोलिडारिटी कपमा मकाउ विरुद्ध गोल गरेका थिए।
धनकुटमा जन्मिएका सुजल एन्फा एकेडेमीका उत्पादन हुन्। उनले २००६ मा संकटा क्लबबाट खेल्दै व्यवासायिक फुटबलमा डेब्यू गरेका थिए। उनी सन् २००८ मा मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध भएका थिए। त्यसयता उनी लगातार मनाङबाटै खेल्दै आएका छन्।
सुजलको कप्तानीमा नेपालले मलेसियन लिग च्याम्पियनसँग मलेसियाको जोहार शहरको पसार गुन्डाङ रंगशालामा खेल्नेछ।
नेपालले मलेसियन लिग च्याम्पियनसँग खेलेपछि विश्वकप छनोटका खेल खेल्नेछ।
विश्वकप छनोटमा भने सुजलले कप्तानको जिम्मेवारी पाउने सम्भावना छैन। किनकी सिनियर खेलाडीलाई कप्तानको जिम्मेवारी दिने प्रचलन अनुरुप किरण र रोहित मध्ये एकले जिम्मेवारी पाउनेछन्।
विश्वकप छनोटमा नेपाल छनोट प्रतियोगिताको समूह ‘बी’ मा छ।
नेपालले भदौ १९ कुवेत र भदौ २४ गते चाइनिज ताइपेईसँग उनीहरुकै घरेलु मैदानमा खेल्नेछ। यस्तै नेपालले अस्ट्रेलियासँग क्यानबेरामा असोज २३ र असोज २८ मा जोर्डनविरुद्ध खेल्नेछ।
नेपाली टिम
गोलकिपर : विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनील बल, रवी पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
फरवार्ड : विमल घर्तीमगर, विक्रम राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ