विश्वकप/एसिया कप छनोट
नेपाल भर्सेस कुवेत
स्थान : जबेर अल अहमेद रंगशाला, कुवेत सिटी
समय : बिहीबार राति १०:४५ बजे
फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट अन्तर्गत नेपालले आज राति कुवेतविरुद्ध खेल्दैछ।
सन् १९८० को एएफसी एसियन च्याम्पियनविरुद्ध उसैको घरेलु मैदानमा खेल्नु नेपालका लागि कठिन चुनौती हुनेछ।
कुवेत र नेपालबीच सन् २००० मा एएफसी एसियन कपको छनोट भएको थियो। सो खेलमा नेपाल ५–० ले पराजित भएको थियो।
पछिल्लो पटक नेपाल र कुवेत गत मार्चमा २ वटा मैत्रीपूर्ण खेलमा भिडेका थिए।
पहिलो खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो भने दोस्रो खेलमा नेपाल १–० गोलले पराजित भयो।
दुवै खेलमा कुवेतले नेपाललाई दबाबमा राखेकाले नेपालका प्रशिक्षक योहान कालिन बिहीबारको खेललाई लिएर सचेत छन्।
‘कुवेतविरुद्धको मैत्रीपूर्ण खेलका राम्रा र नराम्रा पक्ष छन्’ उनले कुवेत प्रस्थान गर्नुअघि भनेका थिए, ‘राम्रो पक्ष हामीले विपक्षीलाई नजिकबाट चिन्न पायौं। नराम्रो पक्ष बनेको हामीले उनीहरुलाई आश्चर्य पार्न सक्दैनौ कि!’
बुधबार भएको पत्रकार सम्मेलनमा उनले कुवेत बलियो टिम भए पनि नेपालले उत्कृष्ट नतिजा ल्याउनका लागि खेल्ने बताएका छन्।
विश्वकप छनोटमा नेपालको टिम सेट नयाँ छ। अनुभवी खेलाडी पाखा लाग्दै गएको अवस्थामा नेपालले युवा खेलाडीलाई मौका दिइरहेको छ।
प्रशिक्षक कालिनले विदेशी लिग खेलिरहेका रोहित चन्द र विमल घर्तीमगरबाट फाइदा लिने योजना बनाएका छन्। इन्डोनेसियाको लिग १ च्याम्पियन पेर्सिजा जाकर्तामा आबद्ध रोहित र माल्दिभ्सको लिग च्याम्पियन टिसी स्पोर्ट्सबाट खेलिरहेका विमल विश्वकप छनोट खेल्न एक साताअघि स्वदेश फर्किएका थिए।
कुवेतको राम्रो पक्ष भनेको उसका प्रशिक्षक हुन्। कुवेतको राष्ट्रिय टिममा क्रोएसियाका अनुभवी प्रशिक्षक रोमेओ जोजाक छन्। उनले कुवेतको टिम सम्हाल्नुअघि पोल्यान्डको शीर्ष डिभिजनको क्लब लिगिया वार्सा सम्हालेका थिए।
उनले खेलअघि नेपाली टिमलाई सम्मान गर्ने बताएका छन्। कुवेतले वेस्ट एसियन च्याम्पियनसिपमा गरेको प्रदर्शनबाट सन्तुष्ट रहेको बताउँदै उनले भनेका छन्– हामी सहि दिशामा छौं।
कुवेतले आफ्ना पछिल्ला खेलमा राम्रो खेल पस्केको छ। वेस्ट एसियन च्याम्पियनसिपमा बहराइनसँग १–० गोलले हारेको कुवेतले जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो। यस्तै साउदी अरेबियामाथि २–१ को जित निकालेको थियो। त्यसअघि इंग्लिस क्लब एस्टन भिल्लाविरुद्धको खेलमा कुवेत २–१ ले विजयी भएको थियो।
यता नेपालले भने विश्वकप छनोटको तयारीका लागि मलेसियन लिग च्याम्पियन जोहार एफसीसँग मैत्रीपूर्ण खेल खेलेको थियो। सो खेलमा नेपाल १–० गोलले पराजित भएको थियो।
त्यसअघि चाइनिज ताइपेईसँग १–१ को बराबरी खेलेको नेपाललाई मलेसियाले २–० गोलले हराएको थियो।
नेपाल पछिल्लो एक वर्ष जितबिहीन छ। नेपालले गत वर्ष भएको साफ च्याम्पियनसिपमा बंगलादेशलाई हराएपछि खेलेका ८ खेलमा जित निकाल्न सकेको छैन।
छनोटको समूह 'बी' रहेको नेपालले पाँच दिनपछि चाइनिज ताइपेहसँग खेल्नेछ। त्यसपछि नेपालले अस्ट्रेलियासँग क्यानबेरामा असोज २३ र असोज २८ मा जोर्डनविरुद्ध खेल्नेछ।
नेपाली टिम
गोलकिपर : किरण चेम्जोङ (कप्तान), विकेश कुथु र विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनील बल, रवी पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द
फरवार्ड : विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ