तीन साताछि दसैंको पूर्वसन्ध्यामा झापाको विर्तामोडमा आयोजना हुन लागेको ‘हाम्रो पूर्वाञ्चल’ अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ। विर्तामोडको जायोन स्पोर्टस् क्लबको आयोजनामा असोज ११ गतेदेखि १८ गतेसम्म डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता सञ्चालन हुँदैछ।
विजयादशमीको उपलक्ष्यमा झापालाई खेलकुदमय बनाउन आयोजना गरिएको गोल्डकपको ६० प्रतिशत काम सम्पन्न गरिएको आयोजक जायोन स्पोर्टस् क्लबका अध्यक्ष भक्त खवासले जानकारी दिए। प्रतियोगिताको तयारी तीव्र पारिएको उनले बताए। ‘प्रतियोगितामा सहभागी हुने तीन टिमको पक्का हुन बाँकी छ,’ उनले भने, ‘मनाङ मस्र्याङ्दी, भुटानको पारो एफसी र नेपालको एक क्लबको कन्फर्म हुन बाँकी छ।’
नेपालका पाँच वटा ए डिभिजन क्लबसहित ८ टिमले गोल्डकपमा सहभागिता जनाउने प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, रुपन्देही ११, भारतको मोल्होई युथ क्लब र आयोजक टिमले सहभागिता जनाउने पक्का भइसकेको छ।
हाल प्रतियोगिता हुने डोमालाल रंगशालाको फुटबल मैदानमा घाँसको काटछाँट र प्याराफिट निर्माणको काम धमाधम भइरहेको छ। ‘आन्तरिक रुपमा खेल मैदान मर्मत सम्हार, बाँसको प्याराफिट निर्माण र प्रचारप्रसार लगायतको काम तीव्र पारेका छौं,’ आर्थिक संयोजक दिपेन्द्र अछामीले भने।
प्रतियोगिताको बिजेताले नगद १२ लाख ५० हजार रुपैयाँ र उपबिजेताले छ लाख २५ हजारसहित ट्रफी प्राप्त गर्नेछ। त्यस्तै, विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदयीमान खेलाडी, सर्वाधिक गोलकर्तालाई पनि जनही नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।