किर्गिस्तानमा जारी नाडेज्हा कपको दोस्रो खेलमा नेपाली महिला फुटबल टिम पराजित भएको छ।
नेपाललाई सोमबार भएको खेलमा उज्वेकिस्तानले २–० गोलले पराजित गरेको हो।
हारपछि पनि नेपालको फाइनल सम्भावना बाँकी छ। मंगलबार ताजकिस्तानलाई पराजित गर्न सके नेपाल फाइनलमा पुग्नेछ।
यसअघि आइतबार भएको पहिलो खेलमा नेपालले आयोजक किर्गिस्तानलाई ८–२ ले पराजित गरेको थियो। नेपालको जितमा सावित्रा भण्डारीले ४ गोल गरेकी थिइन्।
नेपाल, उज्वेकिस्तान, किर्गिस्तान र ताजकिस्तान गरी चार टिमले भाग लिएको प्रतियोगिताको शीर्ष २ टिमबीच उपाधिका लागि भिडन्त हुनेछ। पुछारका २ टिमले तेस्रो स्थानका लागि खेल्नेछन्।
प्रतियोगितालाई नेपालले दक्षिण एसियाली खेलकुद (साग) को तयारीको रुपमा लिएको छ।
साग आगामी मंसिर १५ देखि नेपालमा आयोजना हुने तय छ। घरेलु भूमीमा हुने सागमा स्वर्ण जित्ने लक्ष्यमा रहेको नेपालको मुख्य चुनौती भारत रहेको छ।
यसअघि गत वर्ष विराटनगरमा भएको साफ महिला च्याम्पियनसिपमा नेपाललाई भारतले फाइनलमा पराजित गरेको थियो।