किर्गिस्तानमा जारी नाडेज्हा कपमा नेपाल फाइनलमा प्रवेश गरेको छ।
मंगलबार भएको निर्णायक खेलमा नेपालले ताजकिस्तानलाई १-० गोलले पराजित गरेर फाइनलमा स्थान पक्का गरेको हो। अब नेपालले उपाधिका लागि बिहीबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
ताजकिस्तानविरुद्ध जित दिलाउने क्रममा सावित्रा भण्डारीले ८६ मिनेटमा निर्णायक गोल गरिन्।
उनले गीता रानाको लामो फ्रिकिक बलमा डिबक्स भित्रबाट हेडमार्फत बललाई जाली चुमाएकी थिइन्।
त्यसअघि ताजकिस्तानले नेपालको प्रहारलाई लगातार अवरोध गरेको थियो।
यसअघि नेपाललाई सोमबार भएको दोस्रो खेलमा उज्वेकिस्तानले २–० गोलले पराजित गरेको थियो।
आइतबार भएको पहिलो खेलमा नेपालले आयोजक किर्गिस्तानलाई ८–२ ले पराजित गरेको थियो। नेपालको जितमा सावित्रा भण्डारीले ४ गोल गरेकी थिइन्।
नेपाल, उज्वेकिस्तान, किर्गिस्तान र ताजकिस्तान गरी चार टिमले भाग लिएको प्रतियोगिताको शीर्ष २ टिमबीच उपाधिका लागि भिडन्त हुने प्रावधान छ।
प्रतियोगितालाई नेपालले दक्षिण एसियाली खेलकुद (साग) को तयारीको रुपमा लिएको छ।
साग आगामी मंसिर १५ देखि नेपालमा आयोजना हुने तय छ। घरेलु भूमीमा हुने सागमा स्वर्ण जित्ने लक्ष्यमा रहेको नेपालको मुख्य चुनौती भारत रहेको छ।
यसअघि गत वर्ष विराटनगरमा भएको साफ महिला च्याम्पियनसिपमा नेपाललाई भारतले फाइनलमा पराजित गरेको थियो।